धितोपत्र बोर्डको संकिर्णता, नियामकभन्दा आइएनजीओको सदस्य भएकोमा गर्व



काठमाडौं । नेपाल धितोपत्र बोर्ड नेपालको पुँजी बजारको नियामक निकाय हो । नेपालको पुँजी बजारसँग सम्बन्धित नीति नियम बनाउने, कार्यान्वयन गर्ने र समग्र पुँजी बजारलाई सहजीकरण गरेर विकास गर्ने जस्ता जिम्मेवारी धितोपत्र बोर्डलाई नै छ ।

तर, धितोपत्र बोर्डको पाएको जिम्मेवारी र उसको दायित्वका बारेमा बोर्ड आफै अनविज्ञ रहेको जस्तो देखिएको छ । देशकै पुँजी बजार क्षेत्रको नियमन गर्ने जिम्मेवारी पाएको बोर्ड एउटा अन्तराष्ट्रिय संस्था (आइएनजीओ जस्तै) को सदस्य बनेकोमा अझ धेरै गर्व गरिरहेको जस्तो गरी प्रस्तुत भएको छ ।

आफैंमा नियामक निकाय भए तापनि बोर्ड इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटी कमिसन (आइओएससी) को सदस्य बनेकोमा बढी गर्वानुभूति गरिरहेको संकेत मिल्छ । बोर्डले आफ्नो आधिकारिक वेबसाइटमा प्रष्टसँग देखिने गरी आइओएससीओको एसोसिएट सदस्य बनेको भनेर उल्लेख गरेको छ ।

आइओएससी विभिन्न देशहरुको पुँजी बजारका नियामकहरुको संस्था हो । धितोपत्र बोर्डले यस्तो संस्थाको सदस्यता लिनु र आफ्नो सम्बन्ध अन्तराष्ट्रिय संघ संस्थासम्म पुर्याउनु पक्कै पनि राम्रो कुरा हो । तर, देशको नियामकको जिम्मेवारी पाएको सरकारी निकायले विदेशी संस्थाको सदस्यता लिएको गर्वका साथ उल्लेख गरेर आफ्नो आधिकारिक संयन्त्र मार्फत प्रचार प्रसार गर्नु नियामकको हैसियत विर्सनु र देशभन्दा विदेशी संस्थालाई बढी महत्व दिनु हो भन्ने अर्थलाग्ने एक कुटनीतिज्ञले बताए ।

‘नेपाल आफैमा संयुक्त राष्ट्र संघको सदस्य हो, विश्व ब्यापार संगठनको सदस्य हो, विश्व स्वास्थ्य संगठनको सदस्य हो, अन्तराष्ट्रिय मुद्राकोषको सदस्य हो, अरु पनि यस्ता संस्थाको सदस्य हो, क्षेत्रीय रुपमा कुरा गर्ने हो भने सार्क, विमस्टेक जस्ता संस्थाको पनि सदस्य हो, नेपाल सरकारको आधिकारिक वेबसाइटमा त यस्तो लेखिएको पाइदैन, धितोपत्र बोर्डले देशको भन्दा विदेशी संस्थाको महत्व बढी छ जस्तो लागेर लेखेको होला,’ ती कुटनीतिज्ञले ब्यांग्य गर्दै भने ।

देशको नियमनकारी निकायको वेवसाइडको सिरानमा अन्तराष्ट्रिय संस्थाको सदस्य भएको भनेर प्रचार गर्नुले धितोपत्र बोर्डका उच्च अधिकारीहरुको र त्यसमा पनि खासगरी नेतृत्वको संकिर्णता झल्कने ती कुटनीतिज्ञको भनाइ छ ।

धितोपत्र बोर्डको अध्यक्ष अहिले डा. रेवतबहादुर कार्की छन् । उनी नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाश पाएका ब्यक्ति हुन् । डा. कार्की राष्ट्र बैंकको कर्मचारी भएकै बेलामा अन्तराष्ट्रिय मुद्राकोषमा समेत गएर काम गरेका थिए । डा. कार्कीले पेन्सन पाक्ने बेलासम्म जागिर खाएको संस्था नेपाल राष्ट्र बैंकको वेबसाइटमा भने अन्तराष्ट्रिय मुद्राकोष वा विश्व बैंकको सदस्य भनेर उल्लेख गरिएको छैन ।

डा. कार्कीले आइओएससीओको सदस्यता पाउनु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धीहरुमध्येमा राख्ने गरेका छन् । कुनै सार्बजनिक मन्चहरुमा बोल्दा पनि डा. कार्कीले यो बिषयलाई अति महत्वका साथ उठाउने गरेका छन् । तर, देशको नियामक निकायले अन्तराष्ट्रिय संस्थाको सदस्य बनेकोमा गर्व गर्दै आफ्नो वेबसाइटको माथि उल्लेख गर्नुले भने उनी नेपालको नियामक भएको भन्दा विदेशी संस्थाको एसोसिएटन सदस्य बनेको संस्थाको प्रमुख भएकोमा बढी गर्व गरिरहेका त छैनन् भन्ने प्रश्न समेत उठेको छ ।

धितोपत्र बोर्ड आइओएससीओको पूर्ण सदस्य पनि होइन । एसोसिएट सदस्य मात्रै हो । पूर्ण सदस्य बन्न अझै धेरै प्रक्रिया पूरा गर्नुपर्ने बोर्डकै सदस्यहरु बताउँछन् । तर, बोर्डले कुनै ब्राण्डको उत्पादन वा विक्री गर्ने कम्पनीले ‘आइएसओ सर्टिफाइड कम्पनी’ भनेर उल्लेख गरेझै आफूलाई सस्तो रुपमा प्रस्तुत गरेको छ ।


क्लिकमान्डु