महिला उद्यमशीलता प्रवद्र्धन गर्न राम्रो नीति आवश्यक




काठमाण्डौ । मुलुकभित्र महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवसाय सम्बद्ध नीति, कानून र नियमनको वातावरण हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

उद्यमी मैत्री प्रशासन, व्यवसाय प्रवद्र्धन र सम्बद्र्धनमा सहयोगी वातावरण, पूँजीमा पहुँच र सुलभता र न्यूनतम आधारभूत पूर्वाधार आवश्यक रहेको पनि विज्ञहरूको जोड छ ।

नेपाल उद्योग वाणिज्य महासंघद्वारा हालै ललितपुरमा आयोजित महिला उद्यमी राष्ट्रिय कार्यशाला गोष्ठी तथा कर्पोरेट नाइटमा विज्ञहरूले सो कुरा औल्याएका हुन् ।

सरकारी, निजी र बैंकिङ क्षेत्रका तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको उक्त कार्यक्रममा तथ्यांक विभागद्वारा हालै सार्वजनिक राष्ट्रिय आर्थिक गणना २०७५ मा मुलकभर ९ लाख २२ हजार चारसय व्यवसाय संचालनमा रहेको र सोमा करिव ३४ लाख श्रम मध्ये महिलाको संख्या १३ लाख ६३ हजार अर्थात ४० प्रतिशत हिस्सा महिलाहरूको रहेको तथ्यांक प्रस्तुत गरियो ।

विगत एक दशक यता ठुलो संख्यामा पुरुष बिदेशिएका कारण परिवारको लालनपालन गर्न नेपाली महिलाहरू आय आर्जन पेशामा आवद्ध हुन थालेको कुरा पनि सो अवसरमा औल्याइयो ।

सो कार्यक्रमको उद्घाटन मन्तव्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले देशमा लामो समयसम्म राजनीतिक अस्थिरता र अन्यौलको वातावरण भएकोले उद्योग व्यवसाय क्षेत्र धरासायी भएको प्रष्ट पार्नुहुदै अब देशमा राजनैतिक स्थिरता आएको र विभिन्न ऐन, कानूनहरूको निर्माण भइ अनुकुल वातावरण बन्दै गएकाले उद्यमी व्यवसायीले आ–आफ्ना स्थानबाट सीप, क्षमता एवं दक्षताको उपयोग गरी समृद्ध नेपाल र सुखी नेपाली सरकारको उद्देश्यलाई सफल पार्न सहयोग गर्न आग्रह गरिन् ।

महासंघका विशिष्ट सदस्य पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्यमशील महिलाहरूले आफ्नो उद्यम व्यवसायलाई मेहनत गरी लगनशील एवं अनुशासित भई निरन्तरता दिएमा राष्ट्रमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा समेत स्थापित हुन सक्ने बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महिला उद्यमीहरूको उद्यमशीलता विकासको लागि सीप विकासका साथै सहज रूपमा कर्जा उपलब्ध हुनुपर्नेमा जोड दिए ।

महासंघको महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठले जवसम्म एउटी गृहणी सम्पूर्ण रूपमा उद्यमी बन्न सक्दिन तवसम्म मुलुक विकास र प्रगति पथमा अगाडी बढ्न नसक्ने भन्दै घरघरबाट उद्यमशीलता प्रवद्र्धन गर्ने अभियानमा महासंघ लागिरहेको बताइन् ।

नेपालका ७७ वटै जिल्लाका महिला उद्यमीहरूको प्रतिनिधित्व रहेको उक्त कार्यशाला गोष्ठीमा महिला उद्यमीहरूका महत्वपूर्ण विषयवस्तुहरू जस्तैः महिला उद्यमी एवं उद्योग व्यवसाय क्षेत्रको प्रवद्र्धनका लागि हुनुपर्ने व्यवस्थाहरू, कर राजस्व सम्बन्धी नीति, ऐन नियममा भएका व्यवस्थाहरू, औद्योगिक व्यवसाय ऐन, वाणिज्य नीति एवं अन्य सम्बन्धित नीति, ऐन नियमहरूमा भएका व्यवस्था र कार्यान्वयनको स्थिति साथै बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाहको लागि गरिएका व्यवस्थाहरूबारे सम्बन्धित विषयका विशेषज्ञहरुबाट प्रस्तुतिकरण गरिएको थियो ।


क्लिकमान्डु