मुख्यमन्त्री पौडेलले गरे हेटौंडा-काठमाण्डौ जोड्ने बैकल्पिक मार्गको अनुगमन



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाण्डौ जोड्ने बैकल्पिक मार्ग सतुंगल-मातातीर्थ-देउराली-कुलेखानी सडकको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउन अनुगमन गरेका हुन् । प्रदेश सरकारले सो सडक निर्माणका लागि सर्वे पनि सुरु गरिसकेको छ ।

हेटौंडा–फाखेल–काठमाण्डौ सडक खण्डको फाखेलको महालक्ष्मी हुँदै चखेल देउराली हुँदै सो सडक काठमाडौमा जोडिएको छ । हेटौंडा प्रदेश राजधानी भएसंगै सडक सञ्जाल विस्तार गर्न सो सडकको स्तरीकरण गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

सो सडक भएको क्षेत्रमा तरकारी उत्पादन धेरै हुने भएकाले बजारीकरणमापनि थप सजिलो हुने मुख्यमन्त्री पौडेलको भनाई छ । सो सडकको सञ्जाल विस्तार भए पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने उनले बताए ।

हाल एकतर्फीरुपमा आवत जावत हुने कच्ची सडकलाई कालोपत्रे गरी २ लेनको बनाईने उहाँले बताउनु भयो । प्रदेश सरकारले सो सडकका लागि हाल ४ करोड विनियोजन गरेको छ भने स्तरीकरण सुरुभएसंगै बजेट रकमपनि थप हुने बताईएको छ ।

फाखेलको महालक्ष्मीदेखि काठमाण्डौ कलंकी चोकसम्म सो सडकको दुरी २१ किलोमिटर रहेको छ । मकवानपुर र काठमाडौंको सिमानामा रहेको देउराली भन्ने स्थानबाट मनोरम दृष्यको अवलोकन समेत गर्न सकिने छ ।


क्लिकमान्डु