प्रदेश मन्त्री पौडेल भन्छिन्- सामुहिक खेती गर्न प्रदेश ५ सरकारले किसानलाई जग्गा दिदैछ



काठमाडौं । सरकारले खेती गर्ने किसानलाई जग्गा दिने भएको छ । प्रदेश नम्बर ५ कि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले खेती गर्ने किसानलाई १ वर्षका लागि प्रदेश सरकारले नै पैसा तिरेर जग्गा दिने बताएकी हुन् ।

उनले विगतको समयमा खेतीयोग्य जमिन नहुँदा व्यवसायिक खेती गर्न चाहानेहरुका लागि जग्गा पाउन गाह्रो भएको भन्दै सरकारले नै जग्गा दिएर सामुहिक खेती गराउने योजना ल्याएको बताइन् ।

मन्त्री पौडेलले बाँजो रहेको जमिन वा गुठीको खालि जमिन सरकारले ठेक्कामा लिने र त्यहाँ सामुहिक खेतीको लागि किसानलाई दिइने बताइन् । उनले १ वर्षका लागि जग्गाको भाडा प्रदेश सरकारले आफैँ तिर्ने गरी किसानलाई जग्गा दिने उद्घोष गरिन् ।

‘करार खेतीका लागि सरकार आफैँले जग्गा दिन्छ, १ वर्षको पैसा प्रदेश सरकारले तिर्नेछ, त्यसपछि दोस्रो वर्ष ५० प्रतिशत किसान आफैले तिर्ने र तेस्रो वर्ष किसान आफैँले २५ प्रतिशत तिर्ने छन्,’ मन्त्री पौडेलले भनिन् ।

उनले जग्गा भएको, तर सबै विदेशमा र सहरी क्षेत्रमा भएर जग्गा बाजै राख्न बाध्य भएका जग्गा धनीहरुलाई आफ्नो जग्गा प्रदेश सरकारलाई लिजमा दिन समेत आग्रह गरिन् ।

यसरी किसानलाई व्यवसायिक खेतीमा लैजान सकिने र उनीहरुलाई कृषि क्षेत्रबाटै माथि उठाउन सकिने मन्त्री पौडेलले बताइन् ।

उनले कृषि क्षेत्रलाई सम्मानको पेशाको रुपमा कसैले नहेर्ने हुँदा नेपालमा कृषिमा उन्नमुख हुन नसकेको र केहीले आफ्नो जिविकोपार्जनका लागि मात्र खेती गर्ने गरेको बताइन् ।

यस्ता कुरालाई निर्मुल गर्न सरकार आफैले किसानका लागि केही राम्रो योजना ल्याउनु पर्ने भएकाले आफुले कामको खोजीमा बाहिरी देश जाने युवाहरुको लागि यो योजना ल्याएको जानकारी दिइन् ।

यस्तै उनले किसानलाई विद्युतीय प्रयोगमा छुट दिन पनि सरकारसँग आग्रह गरिन् । आज राजधानीमा आयोजित खाद्य स्वच्छता सम्बन्धी कार्यक्रमलाई संबोधन गर्ने क्रममा उनले यस्तो कुरा बताएकी हुन् ।


क्लिकमान्डु