प्रतिनिधि सभा बैठकमा सांसदहरुले यसो भने
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद अग्नि सापकोटाले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनप्रति सरकार गम्भीर बन्न आग्रह गरे ।
“महिला हिंसा, किशोरी बलात्कार, महिलामाथि एसिड प्रहार रोक्नु पर्छ ।” उनले भने । सांसद सापकोटाले चाडवाडको मुखमा मूल्यवृद्धि भएकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
सांसद पुष्पा भुसालले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजानिक गर्न माग गर्दै दोषीमाथि कडा कारवाहीको माग गरिन् । उनले भनिन्, “शान्ति सुरक्षा कायम गर्न र महिला हिंसा रोक्न सरकार गम्भीर बन्नुपर्छ ।”
सांसद लक्ष्मणलाल चौधरीले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीमाथि सरकारले नै दुई–चार हजारमा काम लगाई श्रमशोषण गरेको चर्चा गर्दै उनीहरूको माग सम्बोधन गर्न ढिलाइ गर्न नहुने धारणा राखे ।
सांसद सरिता गिरीले संविधानप्रति सबैको अपनत्व बढाउन शीघ्र संशोधनको प्रक्रिया शुरु गर्न माग गर्दै तराई\मधेशमा एसिड प्रहारका घटना रोक्न सरकार संवेदनशील बन्नुपर्छ भनिन् ।
सांसद हृदयेश त्रिपाठीले संसद्लाई छलेर अध्यादेशमार्फत निजामती ऐन अध्यादेश नल्याउन आग्रह गर्दै चाडबाडको मुखमा चिनीको मूल्यवृद्धि नगर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अमरेशकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बहानमा रूख कटानी नगर्न र सरकार र डा गोविन्द केसीबीच भएका सहमति कार्यान्वयन नभएकामा चिन्ता व्यक्त गरे ।
सांसद चन्दा चौधरीले कञ्चनपुरकी बलात्कारपछि हत्या गरिएकी पन्तको हत्या घटनामाथि छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन संसद्मार्फत सार्वजानिक गर्न माग गरिन् । सांसद प्रेम सुवालले संसद्को अधिवेशन बन्द गराएर नयाँ ऐन जारी गर्नु हुँदैन भने ।
सांसद विरोध खतिवडाले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत आयोजनाको प्रतिवेदन तयार गरेर मात्र रूख कटानी शुरु गर्नुपर्छ भने । सांसद गगनकुमार थापाले बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण चीनको गेजुवा कम्पनीलाई के आधारमा दिइयो भन्ने प्रश्न गर्दै खुला प्रतिस्पर्धाको किन गराइएन भने ।
सांसद केदार सिग्देलले सामाजिक सुरक्षा कार्यक्रमलाई बजेट अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराए । सांसद रेणुका गुरुङले नेपाली सेनालाई समावेशी बनाउन आग्रह गरे ।
सांसदको चिन्ता
यसैबीच, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा तराई÷मधेश जिल्लामा बालबालिका अपहरण र महिला तथा किशोरीमाथि तेजाब प्रहार गर्ने घटना बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ ।
शून्य समयमा बोल्ने सांसदले अपहरण तथा हिंसाका घटना रोक्न सरकारको ध्यानाकर्षणसमेत गराएका थिए । महिला हिंसा अन्त्य गर्ने विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीका माग पूरा गर्न, ‘समृद्ध नेपाल, सुखी नेपाली नारा’लाई पूरा गर्न भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनीहरूको आग्रह थियो ।
उनीहरुले गत भदौ २७ गतेको अविरल वर्षाले लमजुङ र मनाङ जिल्ला जोड्ने यातायात अवरुद्ध भएको, चाडपर्वको मुखमा मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन, नुवाकोट जिल्लास्थित त्रिशूली जिल्ला अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक तथा औषधि एवं आवश्यक उपकरणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
शून्य समयमा आफ्ना धारणा राख्नेमा दिलकुमारी रावल, दिव्यमणि राजभण्डारी, दुर्गाकुमारी विश्वकर्मा, देवप्रसाद गुरुङ, टेकप्रसाद तिमल्सिना, धर्मशीला चापागार्इं, नागेन्द्र कुमार, नारदमुनि राना, नारायणप्रसाद खतिवडा, पार्वती डिसी चौधरी, पार्वतीकुमारी विशङ्खे, प्रेमबहादुर आले र बालकृष्ण खाँण थिए । रासस