अन्यत्र प्रतिकेजी ७० रुपैयाँ हुँदा भाटभटेनीले कसरी बेचिरहेछ ५९ रुपैयाँमा चिनी ?




काठमाडौं । बजारमा चिनीको मूल्य ७० रुपैयाँभन्दा माथि पुगेको बेला भाटभटेनी सुपर मार्केटले भने ५९ रुपैयाँ प्रतिकेजीमा विक्री गरिरहेको छ ।

बजारमा उपलब्ध मूल्यभन्दा प्रतिकेजी ११ रुपैयाँ सस्तोमा भाटभटेनीले कसरी चिनी बेचिरहेको छ भन्ने प्रश्न पनि उठेको छ ।

तर, भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ भने चाडपर्वमा उपभोक्तालाई सहज होस भनेर आफूले यस्तो भाटभटेनीले यस्तो ब्यवस्था गरेको बताउँछन् ।

चाडपर्वको बेलामा चिनीको माग बढी हुने र यही समयमा मुल्य पनि बढ्ने विगतको अनुभव रहेकोले आफूले केही समय अगाडि नै प्रसस्त मात्रामा चिनी किनेर अहिले उपभोक्तालाई सस्तो विक्री गर्न सकेको उनको भनाइ छ ।

‘हामीले सिधै उत्पादकसँग २०/३० ट्रक चिनी किनेर राखेका छाँै, चाडपर्वमा उपभोक्ताले महंगी खेप्नु नपरोस् भनेर चाडपर्व अवधिभर बजारको भन्दा सस्तो मूल्यमा चिनी बिक्री गर्ने गरी तयारी गरेका छौं,’ गुरुङले क्लिकमाण्डूसँग भने ।

एक जना ग्राहकले २ केजीभन्दा बढी चिनी किन्न नपाउने गरी यस्तो चिनीको दुरुपयोग हुन पनि रोकिएको उनले बताए ।

चाडपर्व नजिकिँदा प्रत्येक वर्ष चिनीको मूल्य बढ्ने प्रचलन रहेको भन्दै उनले उपभोक्तालाई राहत दिन भाटभटेनीमा सस्तो मूल्यमा चिनी बिक्री वितरण गरिएको बताए ।

अब छठ पर्वसम्म १ सय १८ रुपैयाँमा २ केजी चिनी विक्री वितरणका गरिने उनले जानकारी दिए ।

चिनी आयातमा सरकारले परिमाणात्मक बन्देज लगाएको ७ दिनमै चिनीको मूल्य बढेको छ । केही चिनी आयातकर्ताहरु तथा व्यापारीहरुले चिनीको मूल्य प्रतिकेजीमा ५ देखि ६ रुपैयाँको दरले वृद्धि गरेका हुन् ।

गत भदौ ३१ गते मन्त्रिपरिषदको निर्णयले चिनीको आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । नेपालमा चिनीको वार्षिक खपत २ लाख मेट्रिक टन छ । यस्तो मागको अत्याधिक खपद दशै, तिहार, छठ जस्ता पर्वमा हुने गरेको छ ।


क्लिकमान्डु