आयल निगम भन्छ-अब पेट्रोलियम पदार्थको हाहाकार हुन्न



काठमाडौं । केही दिन यता बजारमा पेट्रोल तथा डिजेलको अभाव सिर्जना भएको देखिएपनि अब यो समस्या हट्ने नेपाल आयल निगमले जनाएको छ ।

थानकोट डिपोका कार्यलय प्रमुख भरत रेग्मीका अनुसार शुक्रबार २ बजेसम्म ४ लाख ३६ हजार लिटर पेट्रोल र ४ लाख ४० हजार लिटर डिजेल उपत्यका भित्रिसकेको हुनाले पेट्रोलमा अब कुनै अभाव हुँदैन ।

थानकोट डिपोमा ४०-४५ वटा ट्यांकर रहेको र त्यसमापनि पेट्रोल तथा डिजेल पठाउने तयारी भइरहेको उनले जानकारी दिए । उपत्यकामा सामान्यतया दैनिक ६ लाख लिटर पेट्रोलको माग हुने गरेको उनले जानकारी दिए ।

‘सधै जसोको हाराहारी मै पेट्रोल वितरण भइरहेको छ । तर, २-३ दिनको पेट्रोल अभावको हल्लाले मानिसहरुले आवश्यक भन्दा बढी पेट्रोल लगेको हुँदा यस्तो समस्या उत्पन्न भएको हो,’ प्रमुख रेग्मीले भने ।

शुक्रबार मात्र साढे ५ लाख लिटरको हाराहारीमा डिजेल तथा पेट्रोल वितरण भइरहेका उनले जानकारी दिए । यस्तै, ४० ट्यांकर डिजेल विराटनगरबाट, १५ पेट्रोलको ट्यांकर भैरहवाबाट, २० पेट्रोलको ट्यांकर अमलेखगञ्जबाट आउने तयारीमा रहेको रेग्मीले बताए ।

रक्सौल डिपोबाट तेल नआएपछि उपत्यका लगायतका विभिन्न जिल्लाहरुमा तेलको हाहाकारी मचिएको थियो । ३ दिन ढुवानी बन्द हुँदा प्रत्येक पेट्रोल पम्पमा सवारी साधनको लामो लाइन लाग्न थालेको छ ।

ट्याङ्कर चालकले विभिन्न माग राखी इन्धन ढुवानी नगर्दा मुलुकभर पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । ३ दिनदेखि इन्धनको ढुवानी ठप्प भएपनि आजबाट ट्यांकर धनी इन्धन लिन जान सहमत भएका हुन् ।


क्लिकमान्डु