अख्तियारको प्रमुख आयुक्त घिमिरेद्वारा शपथ ग्रहण



काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा नवनियुक्त घिमिरेलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, मुख्य सचिव, सचिवहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । घिमिरे प्रमुख आयुक्तमा आजै नियुक्त भएका हुन् ।

प्रमुख आयुक्तमा घिमिरे सर्वसम्मत

यसैबीच, संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको हो । घिमिरेले समितिमा प्रस्तुत गरेको अवधारणा र कार्ययोजना तथा उहाँको योग्यता, क्षमता र अनुभवका आधारमा सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

समितिको बैठकमा आयुक्त घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि कार्ययोजना सहित काम गर्ने तथा सभ्य र भ्रष्टाचाररहित समाज निर्माणका लागि प्रतिबद्ध भएर काम गर्ने बताए ।


क्लिकमान्डु