पहिलो त्रैमासमै बैंकहरु ऋणमा एग्रेसिभ, निक्षेप १५ अर्बले बढ्दा कर्जा ४७ अर्बले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६ सुरु भएपछि साउनको पहिलो हप्ता बैकिङ प्रणालीबाट हराएको १६ अर्ब रुपैयाँ अझै फर्केको देखिएको छैन ।

असार मसान्तमा २८ वटा वाणिज्य बैंकसँग २४ खर्ब ७० अर्ब रुपैयाँ निक्षेप थियो । तर,साउनको पहिलो सातामै बैकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ निक्षेप हराएको थियो । आर्थिक वर्ष सुरु भएको पहिलो चारदिनमै बैकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ निक्षेप घटेको थियो । त्यो रकम प्रणालीमा अझै फर्केको देखिएको छैन ।

असार मसान्तपछि बैंकमा लगानी योग्य रकम प्रयाप्त भएको थियो । जसले गर्दा बैंकहरुको कर्जा पुँजी निक्षेप अनुपात(सीसीडी रेसियो) सहज भएको थियो ।

चालु आर्थिक वर्षको दुई महिना सकिन थाल्दा बैंकमा भने निक्षेपभन्दा कर्जाको बृद्धि अत्याधिक देखिन्छ । भदौको तेस्रोसातासम्म आइपुग्दा असार मसान्तको तुलनामा बैंकमा जम्मा १५ अर्ब रुपैयाँले निक्षेप बढेको छ । भने कर्जा प्रवाह ४७ अर्ब रुपैयाँले बढेको छ ।

असार मसान्तमा सीसीडी सबै बैंकको सहज भएको हुँदा अहिले ऋण दिन सहज छ । तर,चालु आर्थिक वर्षको सुरुवातदेखि नै निक्षेपभन्दा ऋण बढी भएको हुँदा बैंकमा ऋण दिनको लागि भने चाहिने रकमको अभाव हुन सक्ने संकेत भने देखिएको छ ।
बैंकरले असोज मसान्तपछि ब्याजदर तल झर्ने वा नझर्ने विषय टुंगो लाग्ने बताएका छन् ।

बैंकहरुको कर्जाको आधारदर(बेसरेट) भने पुस मसान्तको तुलनामा असारमा घटेको थियो । यस्तै साउनमा पनि बेसरेट ओरालो लागेको छ । यसको अर्थ ग्राहकले लिने ऋणको ब्याजदर सस्तो हुनु हो ।

‘अघिल्ला वर्षभन्दा यो वर्ष आर्थिक वर्षको पहिलो त्रैमासमा नै निक्षेपभन्दा कर्जाको बृद्धिदर बढी छ,यसले संकेत भने राम्रो गरेको छैन।’एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

वाणिज्य बैंकमा भदौ २२ सम्म २४ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप छ । यस्तै २१ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । भदौको तीनसातामा मात्र बैकिङ प्रणालीमा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । पछिल्लो डलर सटही गरेर साट्ने टे«ण्ड बढेको बैंकरहरुले बताउदै आएका छन् ।


क्लिकमान्डु