सेवाभावले काम गर्न साल्ट ट्रेडिङलाई मन्त्री यादवको निर्देशन, ५० ठाउँमा सुपथ मूल्य पसल खुल्दै




काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सेवाभावले काम गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिनु दिएका छन् ।

कर्पोरेशनको ५६ औं वार्षिकोत्सव समारोहलाई संबोधन गर्दै मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । उनले भने–रासायनिक मल, चिनी, नुन तथा अन्य उपभोग्य वस्तुको सुपथ मूल्य र सहज आपूर्तिका लागि सरकारपनि क्रियाशील रहेको छ ।

मन्त्री यादवले सेवामुखी भावले आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलव्ध गराउनु पर्ने बताएका थिए ।

कार्यक्रममा आपूर्ति मन्त्रालयका सहसचिव तथा कर्पोरेसनका सञ्चालक समिति सदस्य नवराज ढकालले कर्पोरेसन सेवाभावले काम गर्दै थप सेवाका लागिपनि योजना बनाउनु पर्ने बताएका थिए ।

कर्पोरेसनका कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अहिले कर्पोरेसनमा नुनको आपूर्ति ६ महिनाका लागि पुग्ने सञ्चिति रहेको जानकारी गराएकी थिइन् ।

कर्पोरेसनले आगामी दसैं, तिहार र छठलाई दृष्टिगत गरी विगतका वर्षहरुमा जस्तै सहुलियत दरमा सामानहरुको स्टल राखी बिक्री वितरण गरिने जनाएको छ ।

यसैबीच, कर्पोरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि ७५ हजार सहित सम्मानपत्र रहेको छ ।

आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताए ।

यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल (काठमाडौँ) लाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमशः २५ हजार र २० हजार छ ।

ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमशः ३५ हजार, ३० हजार र २५ हजार छ ।

असोज १२ बाट ५० ठाउँमा सुपथ मूल्य पसल

यता, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रमुख चाड पर्वलार्इ लक्षित गर्दै विभिन्न ५० भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार चाडपर्वमा उपभोक्तालार्इ दैनिक उपभोग्य वस्तुमा राहत दिन असोज १२ गतेदेखि कात्तिक २७ गतेसम्म सुपथ मूल्य पसल संचालन गर्न लागिएको छ ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेशन, दुग्ध विकास संस्थानमार्फत उपभोक्तालार्इ सहुलियत दिनका लागि सुपथ मूल्य पसल संचालन गर्न लागिएको मन्त्रालयका सचिव नवराज ढकालले जानकारी दिए ।


क्लिकमान्डु