अर्थमन्त्री खतिवडासँग व्यवसायीको मोहभंग, कुरा सुन्न नै चाहेनन्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अर्थमन्त्रीको रुपमा डा युवराज खतिवडा आउँदा जुन उत्साह थपिएको थियो तर, ६ महिनामा अर्थमन्त्रीबाट उत्साह जगाउने खालका कार्यक्रम नभएको बताइन् ।

नाडा अटोमोबाइल्स एशोसियनले आयोजना गरेको नाडा अटो शोको उद्घाटन कार्यक्रममा महासंघ अध्यक्ष राणाले अर्थमन्त्रीले अपेक्षा अनुसारको काम गर्न नसकेको भनिरहदा अर्थमन्त्री खतिवडा मन्चमा नै बसेर राणाको भाषण सुन्दै थिए ।

‘अर्थतन्त्रमा हाम्रो समस्या पूर्ण रुपमा बुझेको व्यक्ति अर्थमन्त्रीको रुपमा आएपछि अर्थतन्त्रले गति लिने विश्वास थियो । तर,६ महिनामा त्यो विश्वास जगाउने काम भएन,’राणाले भनिन् ।

दुईतिहाई नेतृत्वको वर्तमान केपी ओली सरकारसँग व्यवसायी र उद्योगीले अपेक्षा बढी गरेका थिए । त्यसमा ओलीले अर्थमन्त्रालयको जिम्मा पार्टीका बरिष्ठ नेतालाई पाखा लगाएर अर्थतन्त्र बुझेका डा युवराज खतिवडालाई ल्याए ।

अर्थमन्त्रीको रुपमा खतिवडालाई आगमनलाई भने सेयर बजारले भने स्वागत गरेन । सेयर बजारका लगानीकर्ता सुरुमा नै खतिवडाको नाम सुन्नासाथ डराए ।

पाँच वर्ष नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा घरजग्गा र सेयर बजारका लगानीकर्तालाई खतिवडाको नीतिले समस्या पारेको थिए । यद्यपी घरजग्गामा बैंकको ऋण लगानीमा सिमा तोक्ने काम विजयनाथ भट्टराईको पालामा सुरु भउको थियो । त्यसलाई खतिवडाले कडाईका साथ कार्यान्वयन गरेका थिए ।

‘दुई तिहाईको सरकार त्यसमा अर्थतन्त्र बुझेको व्यक्ति अर्थमन्त्री बनेपछि हामीले बढी नै अपेक्षा राखेछौ, ६ महिनामा त्यो अपेक्षा पुरा भएन,’महासंघ अध्यक्ष राणाले भनिन् ।

पहिलो पटक व्यवसायीहरुले खुल्ला रुपमा अर्थमन्त्री खतिवडाबाट अपेक्षा अनुसारको काम नभएको बताएका हुन् । पहिला व्यवसायीले अर्थमन्त्री खतिवडाले अर्थतन्त्र बुझेको र त्यो अनुसार अर्थतन्त्र ट्रायकमा आउने बताउदै आएका हुन्थ्थे ।

राणाको प्रश्नको जवाफमा भने अर्थमन्त्री खतिवडाले ३० वर्षदेखि बिर्गेको अर्थव्यवस्थालाई ६ महिनामा ट्रायकमा ल्याउन नसकिने जवाफ दिएका थिए ।

‘६ महिनामा सबै कुरा गर्न सम्भव छैन,सरकारको आलोचना गर्ने समयपनि भएको छैन,काम गर्न नसकेपछि गर्नुहोला,’अर्थमन्त्री खतिवडाले भने ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष रहेका ओलीले अर्थमन्त्रीको रुपमा खतिवडा ल्याएपछि पार्टीमा २० वर्षदेखि राजनीति गरेका नेता तथा कार्यकर्ता खुसी छैनन् । खतिवडाको बजेटपछि पार्टी कार्यकर्तामा निराशा नै छाएको छ ।

कम्युनिष्ट पार्टीको घोषणापत्रमा नै बृद्धभत्ता ५ हजार पुर्याउने उल्लेख थियो । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री बन्दा एमालेले बृद्धबृद्धालाई बृद्धभत्ताको कार्यक्रम सुरु गरेको थियो । सामाजिक सुरक्षाको लागि निकै महत्वपूर्ण मानिएको कार्यक्रम अहिलेसम्म तत्कालिन एमाले र अहिलेको कम्युनिष्ट पार्टीको चुनावमा ठूलो राजनीतिक प्रचार गर्ने माध्यमपनि हो ।

धेरैको अपेक्षा बृद्धभत्ता बढ्छ भन्ने थियो । यस्तै अन्य पपुलर कार्यक्रम नआएपछि दाङबाट निर्वाचित सांसद् मेटमणी चौधरीले प्रधानमन्त्री ओलीसँग भेट गरेर अर्थमन्त्री खतिवडाले राजिनामा दिनुपर्ने समेत माग गरे ।

यस्तोमा पछिल्लो १५ दिनदेखि कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरक बजेट ल्याउनुपर्ने बताएका छन् । भारत भ्रमणको क्रममा पनि पुरक बजेट ल्याउने घोषणा प्रचण्डको छ ।

‘अर्थमन्त्री खतिवडा अर्थतन्त्रको बारेमा जानकार भएपनि अरुको कुरा सुन्न चाहने खालका छैनन, सबै कुरा आफुले मात्र जानेको भएपछि कुरा बुझाउन समस्या छ’,एक व्यवसायीले भने ।

‘अर्थतन्त्रको बारेमा जानकार नभएपनि एमालेबाटै बनेका सुरेन्द्र पाण्डे हुन् या बिष्णु पौडेल वा वर्षमान पुनसँग काम गर्न सहज थियो, खतिवडासँग काम गर्न सहज छैन कुरा बुझाउनपनि सकिएन,बुझेको व्यक्तिले बुझ्नपनि चाहेनन्,’ ती व्यवसायीले भने ।

अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको तथ्यांकलाई भने आफु अनुकुल प्रयोग गर्ने गरेको आरोप भने लागिरहेको छ । स्वेतपत्र ल्याएर अर्थतन्त्र बिर्गेको घोषणा अर्थमन्त्री खतिवडाले गरेका थिए । पछि अंग्रेजी दैनिकहरुमा अंग्रेजी भाषामा अर्थमन्त्रालयले विज्ञप्ती जारी गर्दै अर्थतन्त्र नबिग्रेको बताएको थियो ।


क्लिकमान्डु