व्यवसायी र नायिकाले यसरी मनाउँदैछन् तीज, कसको खर्च कति ?




काठमाडौं । नेपाली हिन्दु महिलाहरु हरितालिका तीज पर्वको महौलमा रमाइरहेका छन् । सिने क्षेत्रका चर्चित नायिका र  व्यवसाय क्षेत्रका चर्चित महिलाहरुले कसरी मनाउँदैछन् त यस वर्षको तीज ? हामीले त्यस्ता केही चर्चित महिला व्यक्तित्वहरुसँग कुराकानी गरेछौं ।

आँचल शर्मा, नायिका
पछिल्लो समय नेपाली चलचित्रमा निकै चर्चामा आएकी नायिका आँचल शर्मा आफूले तीजको लागि विशेष केही नगरेको बताउँछिन् । उनले तीजको लागि २ हजार रुपैयाँको मात्र सपिङ गरेकी छन् ।

कलाकार भएपछि ठूला मलमा सपिङ गर्न रुचाउने तथा सपिङ गरे भनेर बखान सुनाउनेको कुनै कमी छैन हाम्रो समाजमा । तर, आँचल भने प्रायः सपिङ गर्न न्यूरोड जान मन पर्ने बताउँछिन् ।

‘मलाई सपिङ गर्न न्यूरोड जान नै मन पर्छ, सस्तोपनि राम्रोपनि पाइन्छ, प्रायः जो पनि सस्तो र राम्रै चाहान्छन् होला जस्तो लाग्छ । तर, कोही भन्छन् कोही भन्दैनन् त्यति मात्र हो, मैले भनि हाले है,’ आँचलले भनिन् ।

उनले यो तीजको लागि भनेर रातो कुर्था र आफ्नो कुर्थालाई सुहाउँदो झुम्का किनेकी छन् । प्रायः तीजमा उनको घरमा श्राद्ध पर्ने भएकाले बिहान श्राद्ध सकेर बेलुका तिर तीज मनाउने गरेको उनले बताइन् ।

व्रत बस्ने कुरामा भने उनी सधै टाढा सर्ने गर्छिन् । व्रत बसेको अनुभव सुनाउँदै उनले भनिन्–‘पहिलो पटक ब्रत बस्दा २ बजे पानी पुरी खाँदा तोडिएको थियो, भोक त म सहनै सक्दिन, अझ काउली र सागको बस्ना आएपछि भोक नै थामिदैन ।’ उनको मामु र भाउजुले भने प्रत्येक तीजमा पानी समेत नखाई ब्रत बस्ने गरेको उनी बताउँछिन् ।

यस्तै उनका अनुसार ब्रत बस्दा आफुले सक्ने गरी मात्र स्वाथ्यलाई ख्याल राख्दै बस्नु राम्रो हुन्छ । ब्रत भनेको आफ्नो आस्थाको रुपमा हुने, त्यसमा कसैले ब्रत बसेर राम्रो श्रीमान् पाउने भन्नेमा विश्वास नभएको बताउँछिन् ।

राधा पोख्रेल : पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष
यस्तै पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल तीजमा १ महिना अघिबाट दर खाने प्रचलन भने आफुलाई मन नपर्ने बताउँछिन् ।

‘पहिले तीजको दर बुबाको मुख हेर्ने दिनदेखि मात्र खाने गरिन्थ्यो, अहिले १ महिना अघिदेखि दर खान सुरु गरिन्छ, यस्तो विकृती हटाउनु पर्छ,’ राधाले भनिन् ।

उनी आफुले तीजका लागि केही सपिङ नगरेको बताइन् । यो पटक उनी घरमै भएको तीजलाई सुहाउँदो सारी लगाउने सोचमा रहेकी छन् ।

उनी भन्छिन्–‘मैले यो पटक अलि व्यस्त भएरपनि तीजको केही सपिङ गर्न पाइन्, यो तीजमा पहिल ेकै रातो र हरियो रंग भएको सारी लगाउने सोचेको छु ।’
तीजको समयमा पार्टी प्यालेसहरुले भने दरको कार्यक्रमहरु गर्दा ठग्ने गरेको उनको गुनासो रहेको छ । एउटै खानाको टिकेटको २-३ हजार रुपैयाँ तिर्नु पर्ने हुँदा त्यसो गर्नुभन्दा त्यो बचत गर्दा राम्रो हुने उनको भनाई छ ।

तीजकै दिन जन्मिएकी उनी तीजमा आफ्नो आमालाई ब्रत भन्दै सुत्केरी अवस्थामा समेत कसैले पानी समेत नदिएकाले यस्तो रुढीवादी परम्पर विस्तारै हटाउनु पर्ने बताउँछिन् ।

उनी आफु तीजकै दिन जन्मेको हुनाले अहिलेसम्म तीजमा पानी र फलफूल खाने गरेको बताउँछिन् । ‘तीजमा भोकै बस्नु पर्छ भन्ने छैन, आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर फलफूल पानी खाने गर्नुपर्छ, भोकै बसेर केही हुने भए सोमलियाका मानिसहरु भोकै मर्ने थिएनन् होला,’ राधाले भनिन् ।

वर्षा शिवाकोटी, नायिका
यस्तै नेपाली चलचित्र क्षेत्रै कै अर्की नायिका बर्षा सिवाकोटी भने आफुले तीजको लागि १५ हजार रुपैयाँ मात्र खर्च गरेको बताइन् । उनले आफुले कुर्था किन्दा १५ हजार रुपैयाँ खर्च भएको र अन्य आवश्यक कुरा मामुले नै किनिदिनु भएको बताइन् ।

उनी तीजमा व्रत बस्दै छिन् । यसपाली तीजमा उनी पहिलो पटक ब्रत बस्न लागेकी हुन् । केही स्पेशल नभएपनि मामु र भाउजुले ब्रत बस्ने गरेका कारण आफुले पनि ब्रत बस्न लागेको उनले बताइन् ।

उनीपनि १ महिनादेखि दर खाएर तीज मनाउने कुरामा भने असहमत छिन् । उनले तीजमा २-३ दिन अघि दर खानु स्वभाविक भएको, तर १ महिना अघिदेखि सुरु गर्नु विकृति भएको बताइन् ।

उनले तीज भनेको अरुलाई समस्या नपर्ने गरी घरपरिवारसँग बसेर मनाउने बताइन् । यस्तै उनले तीजमा आफुले पानी समेत नखाई भने ब्रत नबस्ने बताएकी छन् । पानी मानिसको लागि आवश्य पर्ने भएकाले पानी फलफूल खानुपर्ने उनको भनाई छ । मानिसले तीजको ब्रतसँगै आफ्नो स्वास्थ्यमा पनि ख्याल राख्नु पर्ने उनको बुझाई छ ।


क्लिकमान्डु