अब भिडियो वा टेलि कन्फरेन्सबाटै बैंक सञ्चालक समितिको बैठक बस्न सक्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिको बैठक बस्न सबै सञ्चालकहरु भौतिकरुमा अनिवार्य बैठकमा उपस्थित नभए पनि हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एकिकृत निर्देशिकामा यस्तो ब्यवस्था गरेको हो ।

बैंक सञ्चालकहरु व्यवसायी तथा अरु कुनै पेशा गरेका व्यक्ति हुने भएकाले कतिपय बैठकमा उपस्थित हुन नसक्ने समस्या थियो । यस्तो समस्यालाई मध्यनजर गर्दै राष्ट्र बैंकले भिडियो वा टेलिफोन कन्फरेनसका माध्यमबाट पनि सञ्चालकले बैठकमा आफ्नो उपस्थिति जनाउन सक्ने व्यस्था गरेको हो ।

‘सञ्चालक समितिको सदस्य समितिको बैठकमा नियमित रुपमा उपस्थिति हुनु पर्नेछ । यस्तो उपस्थिति भिडियो/टेलि कन्फरेन्सको
माध्यमबाट समेत हुन सक्नेछ । मनासिव माफिकको कारण तथा पूर्वसूचना बिना लगातार ३ पटकभन्दा बढी समितिको बैठकमा अनुपस्थित भएमा त्यस्तो सञ्चालकको पद स्वतः रिक्त भएको मानिनेछ ।’ एकिकृत निर्देशिकाको ५६ नं. बुँदामा भनिएको छ ।

राष्ट्र बैंकको यो ब्यवस्थाले बैंक सञ्चालकहरुलाई सजिलो भएको ग्लोबल आइएमइ बैंकका सञ्चालक समिति अध्यक्ष चन्द्र ढकालले बताए ।

‘भिडियो वा टेलिफोन कन्फरेन्सबाट पनि सञ्चालक समितिको बैठकमा सहभागि हुन पाउने व्यवस्थाले सबै सञ्चालकहरुलाई सहज भएको छ,’ ढकालले क्लिककाण्डूसँग भने ।

खासगरी विदेशीहरु सञ्चालक भएका स्टान्डर्ड चार्टर्ड, एसबीआइ, एनबी, हिमालयन, एभरेष्ट, एनएमबि लगायतका विदेशी लगानीकर्ता भएका बैंकलाई भने यो व्यवस्थाले अझ धेरै सहज बनाइदिएको छ ।


पुष्प दुलाल