७० करोडको सम्पत्ति ठगी गर्ने गिरोह पक्राउ, कम्पनी रजिष्टार कार्यालयका कर्मचारीको पनि मिलेमतो 



काठमाण्डौ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले किर्ते कागजात खडा गरी ७० करोडको सम्पत्ति ठगी गरेको अभियोगमा १२ जनालाई पक्राउ गरेको छ । २ जना भने अझै फरार रहेका छन् ।

हेटौंडा घर भई हाल काठमाण्डौ चन्द्रागिरी–८ बस्ने राजनप्रसाद लम्साल, चन्द्रागिरी १४ का निरजकुमार मानन्धर, रामेछाप सुनापाती गाउँपालिकाका जितबहादुर मगर, मोरङ जिल्ला रतुवाई घर भई पेप्सीकोला बस्ने पुण्यप्रसाद खरेल, काभ्रे जिल्ला घर भई बुढानिलकण्ठ बस्ने साइला भनिने राजकुमार तामाङ, चन्द्रागिरी १० का हिमाल महर्जन, सोही स्थानका चिरीबाबु महर्जन र बारा निजगढ घर भई कलंकी बस्ने अमृत थापामगरलाई प्रहरी टोलीले पक्राउ गरेको हो ।

कम्पनी रजिष्टारको कार्यालयमा सहायक रजिष्टार पदमा कार्यरत नारायणप्रसाद पोखरेल र उमेशमान जोशी तथा कम्पनी रजिष्टारको कार्यालय करारमा कार्यरत २ जना कर्मचारीलाई पनि पक्राउ गरिएको छ । कम्पनी रजिष्टारको कार्यालयमा कार्यरत अन्य २ जना हाल फरार रहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोका अनुसार शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रा।लि।का शेयरधनी सञ्चालक एवम् अध्यक्ष रहेका काठमाण्डौ महानगरपालिका वडा नं। ४ चुनदेवी बस्ने भारतीय नागरिक रामनिरञ्जन जटियाको ७० करोडको सम्पत्ति ठगी गर्ने प्रयास भएको हो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार शंकर इलेक्ट्रिक इण्डष्ट्रिजका सञ्चालक जटियाको घरबाट सो कम्पनीको कागजात चोरी भएको थियो ।

विगत १६ वर्षदेखि उनकै घरमा काम गर्दै आएका अभियुक्त जितबहादुर मगरले अभियुक्तहरु राजनप्रसाद लम्साल र निरजकुमार मानन्धरको मुख्य सहयोगमा कागजात, सहीछाप र हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू खरिद गरेको भन्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दर्ता गरेका थिए ।

कम्पनी रजिष्टारको कार्यालयबाट मगरको नाममा नामसारी समेत गराई कम्पनीको नाममा रहेको करिव ७० करोड रूपैयाँ मूल्य बराबरको सम्पत्ति ठगी गर्ने योजना बनाइएको थियो ।

कम्पनी रजिष्ट्रार कार्यालयको २०७५ असार २९ र ३२ गतेको  निर्णयले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयर लगत जटियाको नामवाट मगरको नाममा नामसारी भएको थियो ।

काठमाण्डौ बालुवाटार वस्ने राजभाई श्रेष्ठसँग शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक मै हुँ भनी कागजात समेत देखाई मगर समेतले वालुवाटारको १४ आना १ पैसा ३ दाम जग्गा प्रति आना २१ लाख २५ हजारको दरले खरिदका लागी बैंक मार्फत १ करोड वैना लिएका थिए ।

साथै, चितवन जिल्ला भरतपुर नगरपालिका ४ घर भई लामो समयदेखि जापानमा व्यवसाय गरी वस्ने प्रेमसागर सापकोटालाई शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी सञ्चालकको कागजात देखाई अभियुक्त मगर समेतको समूहले चन्द्रागिरी१५ सतुङ्गलको १५ रोपनी जग्गा प्रति आना १० लाख २५ हजारको दरले खरिदका लागी २ करोड लिएको पाइएको ब्यूरोले जनाएको छ ।

यो ठगी काण्डमा संलग्न १२ जनालाई पक्राउ गरी बिधुतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धान गरिएको केन्द्रीय अनुुसन्धान ब्यूरोले जनाएको छ । घटनामा संलग्न रहेका २ जनाको भने खोजी भइरहेको छ ।

अभियुक्त मगरले २०७५ साउन १६ गते रामनिरञ्जन जटियाको मन्जुरीमा कम्पनी रजिष्टारको कार्यालयबाट नामसारी भईसकेकोले शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको नाममा भएको घर जग्गा खरिद गर्दा बाधा पर्ने छैन भनी सार्वजनिक सूचना जारी गरेका थिए ।

तर, साउन १७ गते शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिको शेयरधनी संचालक जटियाले आफ्नो स्वीकृति बिना अभियुक्त मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेकोले हक हस्तान्तरण नगर्न सार्वजनिक सूचना जारी गरेको ब्यूरोको अनुुसन्धानबाट खुलेको छ । यसअघिपनि जटियाले साउन ११ गते नै अभियुक्त मगरले सहीछाप हस्ताक्षर किर्ते गरी सम्पूर्ण शेयरहरू बिक्री गर्न लागेको भन्दै हक हस्तान्तरण गरी नलिन सार्वजनिक सूचना जारी गरेका थिए ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार १२ जना अभियुक्तलाई पक्राउ गरी बिधुतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा अनुसन्धानपछि अनुसन्धान प्रतिवेदन सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डौंमा पेश गरिएको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।


क्लिकमान्डु