उपत्यकावासीको गुनासो-उफ् ! यो फोहोरको दुर्गन्धबाट कहिले मुक्ति पाइएला खै ?
काठमाडौँ । झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान छिन् । एकातिर घरमा फोहर फाल्ने ठाउँ छैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ ।
“फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महीना ढोकामा घण्टी बज्छ तर समयमा नै फोहर व्यवस्थापन हुन नसक्दा दैनिक कामकाजमा नै समस्या भएको छ” गृहिणी फुयाँलले भनिन् ।
हुन त काठमाडौँ उपत्यकामा फोहर थुप्रिएको यो पहिलो पटक होइन । वर्षौदेखिको समस्या जनप्रतिनिधि निर्वाचित भएर आएपछि हल हुने स्थानीयवासीले आशा गरे पनि समस्या घट्नाको साटो बढ्दो छ । दुई साताभन्दा पहिलेदेखि काठमाडौँ उपत्यकाको फोहर उठ्न सकेको छैन ।
अहिले सडकका मुख्य चोकचोकमा फोहरको डङ्गुर लागेको छ । कालीमाटी चोकदेखि बल्खु निस्कँदा झण्डै एक दर्जन स्थानमा फोहरको डङ्गुर देखिन्छ् । काठमाडौँका कैयौँ स्थानको अहिले यस्तै अवस्थाले नागरिकको जनजीवन प्रभावित भएको छ ।
काठमाडौँ महानगरपालिकाबाट अहिले दैनिक ५०० मेट्रिक टन र काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुन नसकेकाले सडकका दायाँबायाँ थुपारिएको फोहर माथिबाट यातायातका साधन र सर्वसाधारण आवतजावत गर्न बाध्य छन् ।
फोहरमैला व्यवस्थापन काठमाडौँ उपत्यकाको १८ वटै तहको समस्या भएकाले सामूहिक रुपमा समाधान खोज्न खाँचो रहेको कामपा, वातावरण महाशाखा प्रमुख हरि कुँवरले जानकारी दिए ।
उनले भने,“सबै मिलेर वैकल्पिक उपायको खोजी गर्नुपर्छ, महानगरपालिकाले मात्रै गरेर हुँदैन ” केन्द्र सरकारले पनि यसमा चासो देखाउने खाँचो देखिने बताइएको छ ।
यता, ललितपुर महानगरपालिकामा पनि दिनदिनै फोहर बढिरहँदा स्थानीयवासी हैरान छन् । चोक र सडकमा थुप्रिएको फोहरले दुर्गन्ध फैलिएपछि केही दिन पहिले बालकुमारीस्थित खुला जग्गामा फोहर लगिएको लमपाले जनाएको छ । चोकको फोहर मात्रै उठाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए ।
उनले भने, “बालकुमारीमा सीमित खाली जग्गा मात्र हुँदा हामीले सडकमा रहेको फोहर भने उठाउन सकेका छैनौंँ ।” ओखरपौवामा फोहर लगिनासाथ समस्या समाधान हुने लमपाले जनाएको छ ।
लमपाले आफ्नो क्षेत्र र छिमेकी नगरपालिकासँग फोहरमैला व्यवस्थापनको वैकल्पिक स्थानको खोजी गरेको थियो । ललितपुुरका धेरै ठाउँ हवाई मार्गमा पर्ने हुँदा ल्याण्डफिल साइटको सम्भावना नभएको प्रवक्ता महर्जनले बताए ।
“स्थानीयवासीलाई सजग गराएर फोहरको उत्पादन कम गर्न भने सकिन्छ”, महर्जनले भने, “कुहिने र नकुहिने फोहर अब स्रोतबाट नै छुट्याउन आवश्यक रहेको छ ।”
झण्डै १३ वर्षदेखि काठमाडौंँ उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा अन्तिम व्यवस्थापन हुँदै आएको छ । दुई वर्षका लागि भनिए पनि वर्षौँ वर्षसम्म फोहर फालिँदा त्यस स्थानमा थप फोहर फाल्ने अवस्था छैन ।
एक महिनाअघि मात्र ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरिएको थियो । समितिले एक महीना बितिसक्दासम्म पनि समाधानका लागि कुनै उपाय दिनसकेको छैन । मरहठ्ठा आफैंँ कामपाबाट सरुवा भएर अन्यत्र गइसकेका छन् ।
सिसडोलभन्दा दुई किलोमिटर पर दीर्घकालीन ल्याण्डफिल साइट निर्माणका लागि कामपाले बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । त्यसमा थप काम भने हुन सकेको छैन ।
हरेक वर्ष वर्षामा काठमाडौँवासीले फोहरको समस्या बढी भोग्दै आएका छन् । कामपाले वर्षाका कारण बाटो बिग्रिएकाले समस्या भएको जनाउँदै आएको छ ।
हरेक दिन निजी र स्थानीय तहका गरी दुई सय गाडी जानुपर्ने भए पनि हाल ५० गाडी मात्र फोहर बोकेर सिसडोल पुग्ने गरेका छन् । कामपाले फोहर व्यवस्थापनका लागि स्थानको छनोट केन्द्र सरकारले गर्नुपर्नेमा जोड दिँदै आएको छ भने केन्द्र सरकारले स्थानीय समस्या स्थानीय तहबाट नै समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै आएको छ ।
सम्झौताभन्दा लामो समयसम्म निरन्तर फोहर थुपार्दै आएकाले आफूहरूको दैनिक कामकाजमा समस्या आएकाले सिसडोलका बासिन्दाले तत्काल फोहर व्यवस्थापनको काम अन्त्य गर्न कामपालाई आग्रह गर्दै आएका छन् ।
अहिले सिसडोलमा थुपारिएको फोहर माटाले पुर्ने र नयाँ फोहरको व्यवस्थापन गरिँदै आएकाले फोहरको पहाड नै बनिसकेको छ । रासस