एउटै परियोजनामा अहिलेसम्मकै ठूलो ऋण, एनएमबिको नेतृत्वमा ५ बैंकले १६ अर्ब होङ्सी शिवमलाई ऋण दिने



काठमाडौं । एउटै परियोजनामा अहिलेसम्मकै ठूलो ऋण बैंकहरुले दिन लागेका छन् ।

एनएमबि बैंकको नेतृत्वमा ५ वटा वाणिज्य बैंकले शिवम होङ्सी शिवम सिमेन्टलाई १६ अर्ब रुपैयाँ ऋण दिन लागेका हुन् । सोमबार बेलुका ऋण सम्बन्धमा सम्झौता हुने छ ।
एनएमबि बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट,प्रभु एभरेष्ट एसबिआई बैंक मिलेर १६ अर्ब रुपैयाँ ऋण दिने छन् ।

नवलपरासीमा कारखाना रहेको शिवम होङ्सी बैदेशिक लगानीको सिमेन्ट उद्योग हो ।
शिवम होङ्सीमा अहिलेसम्मकै उद्योगमा सबैभन्दा बढी ऋण लिन लागिएको शिवम होङ्सीका प्रवद्र्धकले जानकारी दिए ।

‘उद्योग क्षेत्रमा बैदेशिक लगानीपनि सबैभन्दा बढी यही कम्पनीमा छ,आन्तरिक ऋणपनि यही उद्योगमा हुने छ,’ ती संचालकले भने ।

शिवम होङ्सीमा नेपाली शिवम सिमेन्टको ३० प्रतिशत लगानी छ भने ७० प्रतिशत लगानी चिनियाँ होङ्सी ग्रुप अन्तर्गतको कम्पनीको छ । शिवम सिमेन्टमा नेपाललका ६ जना व्यवसायिक घरानाले लगानी गरेका छन् ।

प्रभावित क्षेत्रका लागि कम्पनीले प्रिमियम मूल्यमा आइपिओ निकालेको छ भने सर्वसाधारणलाई प्रतिकित्ता ४ सयको दरले आइपिओ निकाल्ने चरणमा रहेको छ ।
उद्योगमा शिवम सिमेन्टको १३ अर्ब लगानी छ भने होङ्सीको २५ अर्ब रुपैयाँ लगानी छ ।

उद्योगले परिक्षण उत्पादन सुरु गरिसकेको छ । पूर्ण क्षमतामा संचालन हुँदा दैनिक १२ हजार मेट्रिकटनसम्म सिमेन्ट उत्पादन हुन्छ । अहिले नेपालमा रहेका सिमेन्ट उद्योगमा यो नै सबैभन्दा बढी उत्पादन क्षमता हो ।


क्लिकमान्डु