पढ्ने चाहना पूरा गर्दै ७५ वर्षीय जुरीमायाँ




खोटाङ । एक वर्षदेखि दिक्तेल बजारमा कोठा भाडामा लिएर एक्लै बसोबास गर्दै आएकी जुरीमायाँ राई बल्ल अहिले आएर किताब लेखपढ गर्नसक्ने भएकी छिन् ।

स्थानीय सरस्वती माविको एक कक्षामा बाह्रखरी र अङ्कहरु सिक्दै गर्नुभएकी केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ७५ वर्षीया उनी अहिले वाईवलसमेत पढ्न सक्ने भएकी छिन् ।

क्रिश्चियन धर्मावलम्बी जुरीमायाँ भन्छिन्, “सेवामा जान्छु, कहिलेकाहीँ नबुझेको कुरा सोध्दा हल्ला भयो भन्ने गरेकाले आफैँ पढ्न सक्ने बन्न स्कूल आएकी हूँ ।”

विसं २००१ साउन ८ मा जन्मिएकी उनी गत साउन ६ गते दिक्तेलस्थित सरस्वती माविको कक्षा–१ मा भर्ना भएर अध्ययन गरिरहेकी छिन् । उनको रोल नं ३१ रहेको विद्यालयले जनाएको छ ।

पढाइप्रति निक्कै इच्छुक देखिने जुरीमायाँ नबुझेको कुरा आफैँले पढेर बुझ्न सक्ने हुनाका लागि विद्यालयको नियमित विद्यार्थीका रुपमा बिहान १० देखि बेलुकी ३ः२० सम्म कक्षाभित्रै हुन्छिन् ।

तीन वर्षअघि बितेका उनका श्रीमान् पूर्व बेलायती सेना थिए । विगतमा पढ्ने र पढाउने कुरै नभएपनि श्रीमान्सँग पल्टन (मरक्का)मा रहँदा पढ्न शुरु गरेपनि त्यहाँ बसेको एक महिना बित्न नपाउँदै हङकङ सर्नु परेका कारण जुरीमायाँको पढ्ने चाहना अधुरै भएको थियो ।

सोहीे चाहना पूरा गर्न उनी अहिले कक्षा १ को विद्यार्थी बनेकी हुन् । आफ्नोबाट सन्तान नभएपछि कान्छी श्रीमतीका रुपमा उनका श्रीमान्ले अर्को विवाह गरेका थिए ।

कान्छीतर्फबाट जन्मेका चार छोरी र दुई छोरालेपनि राम्रो नपढेकामा जुरीमायाँको ठूलो गुनासो छ । श्रीमान्को मृत्युपछि उनको पेन्सन जेठी–कान्छी दुबैले आधा–आधा थाप्ने गरेका छन् ।

नाति–नातिनीले धेरै पढेको हेर्न चाहने जुरीमायाँ कलिला बालबच्चासँगै बसेर सिक्न पाउँदा खुशी लागेको बताउँछिन् । शिक्षकहरुसँग कुनै अप्ठ्यारो नमान्ने उनी कक्षा कोठातिर देखाउँदै भन्छिन्, “मलाई त यहाँ आनन्द छ, एकदमै खुशी छु ।”

अहिले विद्यालय जान थालेको महिना दिनमै जुरीमायाँले अङ्क जोड्न, अक्षर पढ्न र सार्न सक्ने भइसकेकी छन् । कोठामा एक्लै बस्ने उनी बिहान बेलुकी खाना पकाउने, खाने अनि बाँकी रहेको समयमा लेख–पढमा बिताउँछिन् ।

“अलिअलि त पढ्न सक्छु जस्तो लाग्दैछ,” कुराकानीका क्रममा हाँस्दै भनिन् । जुरीमायाँले एक महिनाको अवधिमा नै निक्कै प्रगति गरेको उल्लेख गर्दै शिक्षक नुरकाजी सैँजु भन्छन्, “अध्ययनमा रुचि, चासो र नियमित उपस्थितिका कारण छोटो समयमा नै उनी लेखेको सार्न तथा अङ्क जोड्न सक्ने भएकी हुन् ।”

“मेरो आमा ७८ वर्षमा बित्नुभएको थियो, पढ्नमा उत्प्रेरित गराउन आग्रह गर्नुहुने ७५ वर्षकी एक आमालाई पढाउन पाउँदा आफूलाई गर्व भएको र धर्मपनि कमाइयो कि भन्ने लागिरहेको छ,” शिक्षक सैँजु भन्छन्, “यो हामी सबैको गौरवको कुरापनि हो ।”

जुरीमायाँ आफ्ुना सहपाठीका कारण कक्षामा लेख्न लाग्दा अक्षर बिग्रेकामा चिन्ता गर्छिन्, लेखपढ गरिरहँदा ३ देखि ८ वर्षसम्मका पनाती–पनातिनी सरहका सहपाठीहरु उनीतिरै झुम्मिरहेका हुन्छन् । “यिनीहरूले हल्लाइदिएर मेरो अक्षर नै बिगारी दिन्छन् के गर्नु ?, ” उनी भन्छिन् ।

बसेर लेख्दा बच्चाले हल्लाइदिने हुनाले उभेरै लेख्ने गर्नुहुने जुरीमायाँ भन्छिन्, “बच्चाहरू हल्ला त गर्छन् नि सर तर अब त बानी नै भैसक्यो ।” उक्त विद्यालयमा जुरीमायाँसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीहरू पनि अध्ययनरत छन् ।

जिल्लाको सबैभन्दा पुरानो विद्यालयमा पछिल्लो समय शैक्षिक तथा भौतिक संरचनामा भएको सुधारले जिल्लाकै नमूना विद्यालयका रुपमा स्थापित भएको छ । रासस


क्लिकमाण्डू