पैसा नहुनेहरुलाई करोडौंको कम्पनीका मालिक बनाउँदै डा. आत्रेयको टीम




काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक बन्ने बेलासम्म डा. विनोद आत्रेयलाई राष्ट्र बैंककै डेपुटी गभर्नर हुने रहर थियो ।

उनी आफ्नो बुता र क्षमताबाट राष्ट्र बैंकको कार्यकारी निर्देशकसम्म मात्रै बन्न सक्थे । त्योभन्दा माथिल्लो तहको पद डेपुटी गभर्नर हुन उनलाई अर्काे क्षमताको पनि आवश्यकता पथ्र्यो । त्यो क्षमता थियो उनलाई डेपुटी गभर्नरमा नियुक्त गर्ने सरकारको विश्वासपात्र बन्नु ।

तर, उनी यो क्षमतामा कमजोर देखिए । अर्थात डेपुटी गभर्नर बनेनन् ।

‘अहिलेसम्म त म राष्ट्र बैंककै कार्यकारी निर्देशक छु, डेपुटी गभर्नर बनिन् भने पनि यो पद त रहिहाल्छ, रिटायर्ड भएपछि अर्काे कुनै विकल्प सोच्नुपर्छ होला,’ डेपुटी गभर्नर बन्नुभएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा डा. आत्रेयले करिब ३ बर्ष अगाडि नै सुनाएका थिए ।

राष्ट्र बैंकका अधिकारीले नियमन र सुपरीबेक्षण राम्रोसँग गर्न सक्छन् तर आफैले राम्रो कम्पनी चलाउन भने सक्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । तर, डा. आत्रेय यसको अपवाद देखिए ।

उनी राष्ट्र बैंकबाट अवकाश भएपछि नयाँ काममा संलग्न भए । उनी संलग्न भएको संस्थाको नाम इमर्जिङ नेपाल थियो । यो संस्थाले २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंक संचालनको तयारी पनि गरिरहेको छ ।

इमर्जिङ नेपाल भने राम्रो आइडिया भएका तर लगानीको लागि आवश्यक पुँजी नभएका सोचहरुलाई ब्यवसायिक रुप दिन आर्थिक सहयोग गर्ने कम्पनी हो ।

‘ब्यवसायिकता भनेको सोच हो, राम्रो सोच पुँजी अभावमा त्यसै खुम्चेर बस्नु हुदैन भनेर हामीले पुँजीको ब्यवस्था गर्न लागेका हौं,’ इमर्जिङ नेपालका प्रमुख कार्यकारी अधिकृत समेत रहेका डा. आत्रेयले भने ।

उनी नेपाल राष्ट्र बैंकको कर्मचारी भएकै बेलामा नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत पनि भएका थिए । त्यो बेला नेपाल बैंकको ब्यवस्थापन राष्ट्र बैंकको हातमा थियो । सायद नेपाल बैंकमा हुदा उनले सोच राम्रो भएपनि पुँजीको अभावमा ब्यवसायी बन्न नसकेका सोच र ब्यक्तिहरु भेटेका थिए । त्यसैले उनी राष्ट्र बैंकबाट अवकाश पाउने वित्तिकै यो बाटोमा लागे ।

राम्रो सोचलाई कसरी बनाइन्छ ब्यवसायिक ?
राम्रो र उपयुक्त सोच छ भने त्यस्ता परियोजनाको पूर्वाधार निर्माणमा आफूहरुले लगानी गर्ने डा. आत्रेय बताउँछन् ।

‘कसैले राम्रो अवधारणा सहितको परियोजना ल्यायो भने हामीले लगानी गर्ने हो, त्यस्तो कम्पनी चल्न सक्ने आधार, भविष्यमा राम्रो हुने, मूल्य अभिबृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने वा उत्पादित बस्तु तथा सेवा विदेशमा विक्री गरेर विदेशी मुद्रा आर्जन वा विदेशी मुदा संचिति गर्ने प्रकारको हुनुपर्छ,’ उनले बताए ।

कस्तो कम्पनीमा पाइन्छ लगानी ?
इमर्जिङ नेपालले पूर्वाधार निर्माणमा लगानी गर्ने हो । कसैले कृषि क्षेत्रमा लगानी गर्ने राम्रो सोच बनाएको छ भने त्यसको लागि आवश्यक पूर्वाधारमा इमर्जिङ नेपालले पुँजी लगानी गरिदिन्छ । यस्तै जलविद्युत, पर्यटन, शिक्षा, सुचना प्रविधि जस्ता क्षेत्रमा पनि लगानी पाइन्छ ।

‘पैसा त दोस्रो प्राथमिकताको कुरा हो, पहिलो कुरा त परियोजना कस्तो छ, त्यसको सम्भावना के कस्तो हुन्छ भन्ने जस्ता आधार हेरिन्छ, यस्ता आधार हेर्दा उपयुक्त देखियो भने ८० प्रतिशतसम्म हामीले लगानी गर्ने हो,’ डा. आत्रेय भन्छन् ।

यसको अर्थ १ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने परियोजना छ भने इमर्जिङ नेपालले ८० करोड रुपैयाँसम्म लगानी गरिदिन्छ । बाँकी २० करोड रुपैयाँ आइडियावालाले नै लगानी गर्नुपर्छ भन्ने हो । तर, इमर्जिङ नेपालले ३० प्रतिशत लगानी आइडियावालाले नै गरोस भन्ने चाहन्छ ।

‘कुनै पनि आइडियाको धनी हामी होइनौं, जसले आइडिया ल्याएको छ, उसैले त्यसको कार्यान्वयन प्रभावकारी रुपमा गर्न सक्छ, त्यसैले ३० प्रतिशत लगानी उसैले गर्यो भने कम्पनी छोडेर उ जादैन र कम्पनी राम्रोसँग चल्छ भन्ने हो,’ उनले थपे ।

कस्तो हुनुपर्छ कम्पनी ?
यसरी लगानी प्राप्त गर्ने कम्पनी पब्लिक कम्पनी नै हुनुपर्छ । कम्तिमा १० प्रतिशत सेयर सर्बसाधारणलाई विक्री गर्नुपर्छ । त्यस्तो कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत हुनुपर्छ ।

इमर्जिङले लगानी कसरी फिर्ता लिन्छ ?
इमर्जिङ नेपालले परियोजना संचालनको लागि आवश्यक पूर्वाधार निर्माणमा लगानी गरिदिने हो । त्यस्तो लगानी उसले इक्वीटी (सेयर) को रुपमा लगानी गर्छ । अर्थात तपाइले सोचेको परियोजनाको साझेदार इमर्जिङ नेपाल हुन्छ ।

‘कम्पनी रहेसम्मको लागि पनि इक्वीटीमा लगानी गर्न सकिन्छ, कसैले यतिबर्षको लागि मात्रै तपाइहरुको लगानी आवश्यक छ भनेर पूर्वशर्त राख्यो भने त्यो समयसम्मको लागि मात्रै पनि लगानी गर्न सकिने भयो,’ डा. आत्रेयले प्रष्ट पारे ।

इमर्जिङ नेपालले गरेको लगानी फिर्ता गर्नु परेमा सुचिकृत कम्पनीको सेयर खरिद विक्री प्रक्रिया अनुसार नै लगानी फिर्ता गर्नुपर्ने हुन्छ । अर्थात इमर्जिङ नेपालले कुनै कम्पनीको परियोजनामा लगानी गरेको छ र उसको लगानी फिर्ता गर्नुपर्ने अवस्था छ भने सो दिन सो कम्पनीको सेयर कति मूल्यमा दोस्रो बजारमा खरिद विक्री भएको हुन्छ, सोही अनुसार सेयर किनेर इमर्जिङ नेपालको लगानी फिर्ता गर्न सकिन्छ ।


क्लिकमान्डु