वरिष्ठ कलाकार तथा यायक हरिप्रसाद रिमालको निधन
काठमाडौँ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान आफ्नै निवासमा निधन भएको छ ।
रिमालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिए ।
नाटककार स्व. बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गर्नुभएका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गरेका थिए ।
उनी विसं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा…. बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित भए । उनले गाएको ‘बिना बादल असिना झर्यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ गीत सदाबहार चर्चित छन् ।
सरल र स्वभाविक अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई विसं ०७१ मा सिजी कामना अवार्ड समारोहमा एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो ।
विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडौंको लगनटोलमा जन्मिएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उनका दुई छोरा, एक छोरी छन् ।