उपत्यकाका सडकमा आज बिजोर, भोलि जोर र पर्सी बिजोर नम्बरका गाडी चल्न पाउने



काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सम्मेलनका लागि आज काठमाडौं बिजोर नम्बरका गाडीमात्र चलेका छन् ।

ट्राफिक व्यवस्थापन सहज गराउन आजदेखि पर्सीसम्म उपत्यकामा जोर बिजोर प्रणली लागू गरिएको हो ।

यसअनुसार आज र पर्सी बिजोर नम्बरका गाडी मात्र चल्न पाउँछन् भोलि जोर नम्बरका गाडी मात्र चल्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यी गाडीमा लाग्दैन जोरबिरोजको नियम

-बिम्स्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरूलाई ।

-गृह तथा परराष्ट्र र बिम्स्टेकमा खटिएका कर्मचारीहरूलाई  सांसदको सवारी साधनहरू ( परिचय पत्र हेरेर) ।

-अत्यावश्यक सेवा, अतिआवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएका) हरूलाई ।

-कुटनितिक नियोगका सवारी साधनहरू सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरूलाई ।

-बिहान ६ बजेअघि र बेलुकी १० बजे पछि सम्पूर्ण सवारी साधनहरू ।

काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

यता, बिमस्टेक सम्मेलनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । आजदेखि झनै मुख्य सडकमा यात्रा गर्न गाह्रो भएको छ । सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाको सवारीका कारण शनिबार बिहानसम्मै काठमाडौंका केही रुटमा यात्रा गर्न समस्या हुने देखिएको छ ।

ट्राफिक प्रहरीले अति विशिष्ट पाहुनाको लागि तय भएको सवारी रुटको विकल्प प्रयोग गर्न सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बिमस्टेक सम्मेलनस्थल सोल्टी होटलसम्म तीनवटा सवारी रुट तय गरिएको छ ।

ट्राफिक प्रहरी महाशाखाले विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु र कालिमाटी हुँदै सोल्टी होटलसम्मको सडकलाई मुख्य रुट निर्धारण गरेको छ । वैकल्पिक रुटका रूपमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, गौशाला, चाबहिल, महाराजगञ्ज, गोंगबु, बालाजु, स्वयम्भू सीतापाइला, कलंकी, रविभवन हुँदै सोल्टी होटलसम्म निर्धारण गरिएको छ ।

यसैगरी विमानस्थल, तीनकुने, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कालीमाटी हुँदै सोल्टीहोटलसम्मको अर्को वैकल्पिक रुट तय गरिएको छ । सकेसम्म यो रुट प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

भदौ १४ र १५ गते विद्यालयहरुमा विदा, केही शिक्षणसंस्था आजपनि बन्द

यता, सरकारले काठमाडौंमा विम्स्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विम्स्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो । तर, केही शिक्षणसंस्थाहरु आजपनि बन्द रहेका छन् ।


क्लिकमान्डु