सारीको ब्यापारमा कर बृद्धिको असर, बिक्री ५० प्रतिशत घट्यो




काठमाडौं । तीजलाई महिलाहरुको महान् पर्वको रुपमा लिइन्छ । अरु बेला सारी नलगाउने महिलाहरु तीज पर्वमा भने सारी नै लगाउने गर्छन् ।

पछिल्लो समय विवाहित महिलामात्र नभई अविवाहित महिलाहरुमा पनि सारीको मोह बढ्दो देखिन्छ । तर, यो वर्ष सारी व्यापारमा भने मन्दी लागेको छ ।

यसवर्षको हरितालिका तीज नजिकै आइसकेको छ, तर बजारमा सारीको बिक्री भने विगत वर्षको तुलनामा ५० प्रतिशत घटेको व्यापारीहरु बताउँछन् ।

७ वर्षदेखि असनमा साडी तथा कुर्था बेच्दै आएकी चेलिबेटी सारी स्टोरकी प्रोप्राइटर पिंकी पाठक विगतका वर्षहरुमा प्रतिदिन १ लाख रुपैयाँसम्मको व्यापार हुने गरेपनि पछिल्लो दिनहरुमा दिनको ३० देखि ५० हजार रुपैयाँको मात्र साडी बिक्री भएको बताइन् ।

काठमाण्डौको असन बजारमा १ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डेड सारीहरु बिक्री हुने गरेका छन् ।

तीजमा सिल्क, सिफन र जरजरका सारीहरु बढी जसो बिक्री हुने गरेको चेलीबेटी साडी स्टोरकी व्यवसायी पाठक बताउँछिन् ।

पछिल्लो समय कर बढ्नु र महङ्गीका कारण व्यापार डामाडोल भएको पाठकको भनाई छ ।

पछिल्लो समय महिलाहरुले हलुका खालको सारी रुचाउने गरेको उनी बताउँछिन् । तीजको समयमा १ हजार ९ सय रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका सारी बिक्री हुने गरेको बताउँछिन् ।

‘तीजमा सारी एक दिन मात्र लगाउने हो भनेर प्रायःले सस्तै किन्न खोज्छन्,’ पाठकले भनिन् ।

यसैगरी, बिशाल बजारमा रहेको एसके क्रियसनका व्यवसायी प्रमोद शर्मा पछिल्लो समय सारीमा घाटा बेहोर्नु परेको बताउँछन् ।

गएको वर्ष प्रतिदिन ५० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्मको सारी बिक्री हुने गरेको, तर अहिले ३० हजार रुपैयाँको बिक्री हुनपनि गाह्रो परेको शर्मा बताउँछन् । उनी नेपालमा करका कारण सारीको मूल्य बढेका कारण व्यापार घटेको बताउँछन् ।

यस्तै, असनमा १५ वर्षदेखि सारी तथा कुर्था व्यवसाय गर्दै आएका रिम्पल सिंह पछिल्लो समय सारीको व्यापार सोचे जस्तो हुन नसकेको बताउँछन् ।

तीजको सिजनमा यो वर्ष ५० प्रतिशतले सारीको व्यापार घटेको बताउँछन् ।

‘सरकारले जथाभाबी रुपमा बढाएको करका कारण सास्ती भोग्नु परेको छ, त्यसले गर्दा व्यापार निरन्तर घट्दो,’ सिंहले भने ।

उनको होलसेल तथा खुद्रा पसलबाट सिफन र सिल्कका बढी सारीहरु बढी बिक्री भइरहेका छन् ।

भारतबाट ल्याएर असनमा सारी तथा कुर्था विक्री वितरण गर्दै आएका उनी तीजमा पहिलेको झै रातो सारी मात्र नभई अन्य रंगको सारीको मागपनि बढ्दो रहेको बताउँछन् ।

आजकल सारी बाहेक कुर्था तथा टप्स लगायतका कपडाहरु पनि बढी रुचाइने गरेको सिंहले बताए ।

भोटाहिटीका सारी व्यापारी जय सिंह तीजमा १ हजार ५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्मका सिफनका सारी बढी बिक्री हुने गरेको बताउँछन् ।

उनको पनि गुनासो उस्तै छ । ४ वर्षदेखि भोटाहिटीमै सारी विक्री गर्दै आएका उनी भन्छन्–‘कर बढेकाले बजारमा सामानको मूल्यपनि बढेर आएको छ, बिक्री कम भइरहेको छ ।’

यस्तै, रुपश्री सारी पसलका व्यवसायी नितेश मुन्द्र यो पटक तीजमा सारीको व्यापार ५० प्रतिशतले घटेको बताउँछन् । उनी विगतमा असन मात्र एक गन्तव्य बनेको, तर अहिले जहाँ किनेनी पाइने र अनलाइनबाटपनि किन्ने चलन आएकोले बजारमा सारीको व्यापार घटेको बताउँछन् ।

उनी १ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको सिल्कका सारी बिक्री भइरहेको बताउँछन् ।

यस्तै, असनकै कामधेनु सारी पसलका व्यवसायी बद्री गुप्ता कर बढाएका कारण आयातमा समस्या हुने गरेको र त्यसले गर्दा बजारमा पर्याप्त सारीपनि नआएको बताउँछन् । बिस्तारै सारीप्रतिको मानिसहरुको चासो हट्दै गएको उनको भनाई छ ।

४ वर्षदेखि असनमा सारी व्यवसाय गर्दै आएका उनी करले आयात हुने गरेको सामानको मूल्य बढाएको र महङ्गो किन्न कोही नचाहाने भएकाले व्यापार घटेको बताउँछन् ।


क्लिकमान्डु