साउन महिनामा ६ पानी उद्योग बन्द, वारा–पर्साका दुग्ध र खाद्य उद्योगमा पनि शिलबन्दी



 

फाइल फोटो

काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले साउन महिनामा ६ वटा पानी उद्योग बन्द गराएको छ । विभागले हेटौडा, पर्सा र बाराका पानी उद्योगहरु बन्द गरेको हो ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा ती पानी उद्योगहरुले निर्देशिका अनुसार कार्य नगरेको कारण बन्द गराएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए ।

‘उपत्यका भित्र खासै केही भेटिएका छैनन्, यो पटक उपत्यका बाहिर धेरै पानी उद्योगहरु बन्द गरिएका छन्,’ वस्तीले भने ।

हेटौडाका ३, पर्साका २ र बाराको १ पानी उद्योग बन्द गराइएको उनले बताए ।
हेटौडाको मकवानपुर वेभरेज, शुभ वेभरेज र नेचुरल वेभरेज पानी उद्योग निर्देशिका अनुसार नभएकाले बन्द गरिएको वस्तीले बताए ।

उनले पछिल्लो समय पानी, दुध र खाद्य मै बढी अनुगमन गरेको बताए ।
‘अब हामी पानी, दूध र खाद्य मै बढी केन्द्रित भएर काम गरिरहेका छौँ,’उनले बताए ।

यस्तै पर्साको आयुष प्रोडक्टस्को निर्मल जल र बोलबम प्योर ड्रिङकीङ वाटर उद्योगको पानी निर्देशिका अनुसार नभएकै कारण बन्द भएको हो ।

बीरगञ्ज फुड ईण्डष्ट्रीजले उत्पादन गरेको पिउने पानी मापदण्ड अनुसार नभएको भन्दै बन्द गरिएको विभागले जानकारी दिएको छ ।

दुग्ध र खाद्य उद्योगपनि बन्द गराइयो
यस्तै बाराको एउटा दुग्ध उद्योग र पर्साको खाद्य उद्योगपनि बन्द गरिएको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार बाराको मिल्क फुड डेरी प्रोडक्सद्धारा उत्पादन भएको घिउमा मिसावट पाइएको हो । उक्त उद्योगले खाद्य अनुज्ञापत्र नलिई उद्योग सञ्चालन गरेकाले बन्द गरिएको वस्तीले बताए ।

यसैगरी, पर्साको मन्नु फुड एण्ड न्यूट्रिसियस उद्योग पनि बन्द गरिएको छ । उद्योगले खाद्य मापदण्ड निर्देशिका अनुसार काम नगरेको हुनाले उक्त उद्योग बन्द गरिएको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु