इन्जिनियरको उद्यम यात्राः पारिवारिक ईँटा व्यवसायबाट उठेर इको प्यानलदेखि सार्वजनिक यातायातसम्म



कृष्णभक्त दुवाल इन्जिनियर हुन् । अहिलेसम्म उनले एक हजारभन्दा बढी विद्यार्थीलाई पढाइसके । इन्जिनियरिङका विद्यार्थीका लागि कृष्णसरको परिचय पछिल्लो सयम फेरिएको छ ।

‘गोर्खा इको प्यानल’ २०७२ सालमा गएको भूकम्पपछि धेरै सुनिएको नाम हो । बहराइनबाट विदेशी लगानी ल्याएर स्थापना भएको इन्टरनेशनल ग्रिन डेभलपमेन्ट कम्पनी स्थापना गरी नेपालमा पहिलो पटक इको प्यानलको उत्पादनको आइडिया दुवालको हो । भक्तपुरको जगातीमा उद्योग छ भने इको प्यानलले ४० वटाभन्दा बढी जिल्लामा नेटवर्क स्थापना गरिसकेको छ ।

माथिल्लो मुस्ताङ भेडाको सेवाकेन्द्रको लागि गोर्खा इको प्यानल प्रयोग गरेर बनेको भवन

भूकम्पले अर्थतन्त्रमा ठूलो क्षती गर्यो । २०७२ मा गएको भूकम्पको कारण मानवीय क्षती त झनै ठूलो छ । तर, केही व्यवसायलाई भने भूकम्प नै सहयोगी बन्न पुग्यो । जसमा दुवालले सुरुवात गरेको गोर्खा इको प्यानल पनि हो । धेरैलाई गोर्खा इको प्यानल भूकम्प गएपछि सुरु भएको व्यवसाय जस्तो लाग्छ ।

‘उद्योग लगाउने काम भूकम्प अगाडिबाट सुरु भइसकेको थियो, भूकम्प आएको दिन उद्योगको काम धमाधम चलिरहेको थियो, भूकम्पको समयमा हामी यही उद्योग रहेको स्थलमा सुरक्षित स्थान खोेज्दै आएका थियौ,’ दुवालले गोर्खा इको प्यानलको कथा सुनाउदै भने ।

धेरैले उनलाई भूकम्प आउने थाहा भएर व्यवसाय गरेको भनेर पनि जिस्क्याउने गरेका छन् । २०७२ साल बैशाखमा भूकम्प गयो भने गोर्खा इको प्यानलको उत्पादन असारदेखि सुरु भयो ।

धेरै व्यवसाय गरेपनि दुवाललाई चिनाउने काम भने गोर्खा इको प्यानलले गर्यो । जसले उनको परिचयमा कृष्ण सरबाट एउटा सफल उद्यमीको परिचय थपिदियो ।

‘भारतबाट पावर ब्याट्री आयात गरेर बेचियो, त्यसमा सफल हुन सकिएन, गोर्खा इको प्यानलमा सफल हुन सकियो,’ उनले थपे ।

नविकरणीय ऊर्जामा पुलचोक इन्जिनियरिङ कलेजबाट मास्टर गरेका दुवाल इन्जिनियरिङ कलेजमा पढाएर मात्र सन्तुष्ट थिएनन् ।

दुवालको परिवारले गर्ने व्यवसाय इटा उद्योग हो । अझैपनि उनको परिवारले इटा व्यवसाय नै संचालन गर्छन् । नविकणीय ऊर्जाको विद्यार्थीको हिसाबले उनी इटाको बिकल्प खोज्दै थिए ।

परिवारले चलाउने इटा व्यवसाय तर, यो वातावरणमैत्री नभएको भन्दै निर्माणको क्षेत्रमा प्रविधिमैत्री क्षेत्रमा काम गर्ने सोच दुवालको थियो । यसलाई उनले पढेको नविकरणीय उर्जा विषयले सहयोग गर्यो पनि ।

‘सन् २०११ देखि सन् २०१४ मा नयाँ व्यवसाय गर्ने भन्दै भक्तपुरबाट युरोपदेखि खाडी तथा इजरायल हुँदै चीनसम्म पुगियो,’ गोर्खा इको प्यानल स्थापनाको सुरुवातको क्षण सम्झदै दुवालले भने ।

गोर्खा इको प्यानलको प्रविधि बहराइनको हो भने यसमा भएको मेसिन चीनको । कम्पनीमा ५० प्रतिशत लगानी बहराइनको छ । अहिलेसम्म कम्पनीले २५ करोडको लगानी गरिसकेको छ ।

नेपालीहरु घर बनाउदा प्रयोग गर्ने सामाग्रीमा बिकल्प प्रयोग गर्दैनन् । अहिले पनि अधिकांश घर निर्माणमा इटा नै प्रयोग हुन्छ ।

प्यानल लगाएर वाल लगाउने प्रविधि बुझाउन निकै कठिन भएको अनुभव दुवालसँग छ ।

‘आर्थिक रुपमा इको प्यानल लगाउदा ८ देखि १० प्रतिशत फाइदा हुन्छ, यसका अप्रत्यक्ष फाइदा बढी हुन्छ,’ दुवालले भने ।

२० तल्लाको घर बनाउदा इटा र इको प्यानलमा इको प्यानल प्रयोग गर्दा २० प्रतिशतसम्म खर्च कम हुने अनुसन्धानबाट देखिएको उनले बताए । ठूला भवनमा इटाको प्रयोग गर्दा लोड हुने हुँदा इको प्यानल प्रविधि बढी लाभकारी हुने दुवाल बताउँछन् ।

‘चार इन्चको इको प्यानलले ९ इन्चको इटाले दिने सबै प्रकारको सुविधा दिन्छ, जस्तो बाहिरको चिसो भित्र आउन नदिने र गर्मी पनि भित्र आउन नदिने हुन्छ, स्पेश पनि बच्छ,’ इको प्यानलको फाइदा सुनाउदै दुवालले भने ।

सुरुवातमा गोर्खा इको प्यानलको प्रयोगकर्ता विदेशमा बसेर आएका नेपाली भएको र विस्तारै मानिसहरुले कुरा बुझ्दै जान थालेको उनीको अनुभव छ ।

अर्को फाइदा इको प्यानलको भवन निर्माण गर्नको लागि छिटो हुन्छ । त्योपनि गुणस्तरीय नै । भवन निर्माण छिटो सकिनु पनि आर्थिक रुपले फाइदा नै हो ।

गोर्खा इको प्यानलको प्रयोग राष्ट्रपति कार्यालयदेखि विभिन्न व्यवसायिक परियोजनामा भइसकेको छ । गतवर्ष १५÷१७ करोड रुपैयाँको कारोबार गर्न सफल भएको दुवाल सुनाउँछन् । हिमालदेखि पहाड तथा तराईसम्म गोर्खा इको प्यानल प्रयोग गरेर भवनहरु निर्माण भइसकेका छन् ।

व्यवसायमा सफल भएपनि दुवालले पढाउन भने छाडेका छैनन् । अहिले पनि उनी ख्वप इन्जिनियरिङ कलेजमा पढाउने काम गर्छन् ।

गोर्खा इको प्यानलले सफल उद्यमीको परिचय दिएपनि उनले अब सार्वजनिक यातायातमा लगानी गर्न तयारी थालेका छन् । सिन्डिकेट हटेपछि काठमाडौंमा अब रुट परमिट लिन सजिलो छ ।

नविकरणीय ऊर्जामा नै काम गर्ने उद्देश्यले दुवालले चीनबाट विद्युतीय बस आयात गरेर काठमाडौंका सडकमा गुडाउने योजना बनाएका छन् ।

चिनियाँ ब्राण्ड सिएनएसी बस काठमाडौंमा ल्याएर चलाउने योजना दुवाल सहित कम्पनीका अन्य लगानीकर्ताको छ ।

‘सुरुवातमा हामीले दुईवटा ब्याट्रीबाट चल्ने बस ल्याएर काठमाडौंमा चलाउने योजना बनाएका छौं, व्यवसायिक रुपमा सम्भव भएमा बसलाई नेपालभर फैलाउने योजना छ,’ दुवालले सुनाए ।

उनले काठमाडौं उपत्यका, पोखरा तथा तराईका जिल्लाको नगर क्षेत्रमा विद्युतीय बस संचालन गर्न सम्भव हुने देखेर बस चलाउन लागेको बताए ।

‘बसलाई नेपालमा बिक्री गर्नको लागि हामीले बिक्रेताको अनुमति पाइसकेका छौं, तीन महिनाभित्र काठमाडौंमा ब्याट्रीबाट चल्ने बस कुद्छ,’ दुवालले थपे ।

रुट भने फाइनल अहिलेसम्म भएको छैन । कम्पनीको योजना चक्रपथ परिक्रमा वा भक्तपुरदेखि कलंकी वा रत्नपार्कसम्म चलाउने रहेको छ । ४० सिट क्षमताको बस एक पटक चार्ज गरेपछि २२० किलोमिटरसम्म चलाउन मिल्छ ।  यस आधारमा सहरी क्षेत्रमा बस उपयोगी हुने अनुमान दुवालको छ ।


क्लिकमान्डु