कालीमाटी तराकारी बजार पूर्णरुपमा खुल्यो, व्यवसायीले किसानलाई उचित मूल्य देलान् त ?



काठमाडौं । सोमबारदेखि बन्द कालिमाटी फलफूल तथा तरकारी बजार आजदेखि पूर्णरुपमा खुलेको छ । मंगलबारसाँझ सम्म आन्दोलन नछोड्ने अडानमा बसेका व्यवसायी आफैले कालिमाटी बजार खुल्ला गरेका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोली र व्यवसायीबीच विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो ।

यसैबीच, कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघको महासचिव भरत खतिवडालाई नियन्त्रणमा लिएको भन्दै आन्दोलन कायम राख्ने र कालिमाटी बजार आंशिक बन्द गर्ने बताएका थिए ।

तर, कालिमाटी बजार बन्द भए किसानहरुको उत्पादन खेर जाने भन्दै व्यवसायीहरुले बजार खुल्ला गरेका हुन् । कालिमाटी फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार अझै खतिवडालाई छोडिएको छैन ।

‘हामीले किसानसँग सिधा सम्पर्क गर्ने, उपभोक्ता र किसानको हितमा काम गर्ने भनेर मन्त्रालयमा कुरा भाको छ,’ घिमिरेले भने । सबै पक्ष बसेर कालिमाटी बजारका समस्या समाधान गर्ने कुरा भएको उनले बताए ।

मंगलबार किसान र व्यवसायी मिलेर नै बजार बन्द गरेको उनले बताए । किसानले मूल्य नपाउनुको कारण कालिमाटी बजार र व्यवसायी मात्र नभएको उनले बताए ।

अनुगमन टोलीको निश्कर्ष- व्यवसायीले उपभोक्ता ठगे, किसानले उचित मूल्य पाएनन्
यता, सरकारी अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । किसानले पाउने मूल्यको ४ गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेको अनुगमनको क्रममा पाइएको थियो ।

अनुगमन जानकारी बिना नै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारवाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।


क्लिकमान्डु