इस्लाम धर्माबलम्बीहरु बकर–इद मनाउँदै



काठमाण्डौ । इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् ।

बकर इदका अवसरमा प्रदेश नम्बर १, २ र ५ सरकारले आज सार्वजनिक बिदा दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत प्रमुख दलका शीर्ष नेताले विज्ञप्ती मार्फत शुभ कामना दिनु भएको छ ।

इद के हो ? के छ महत्व ?
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिएर मनाइदैछ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ ।

इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदे अनुसार बली दिन जंगलमा लगेपछि छोरालाई बली चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२ औं महिना जिल हिज्जाको १० औं तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा सुरु भएको मानिन्छ । आज बिहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गर्छन् ।

नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैंसी, भेडा र ऊँट आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ । कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा छ ।


क्लिकमान्डु