कालिमाटी बजार भोलिदेखि खुल्ने, तर व्यवसायी भन्छन् आन्दोलन रोकिएको छैन



काठमाडौं । कृषि मन्त्रालय र वाणिज्य मन्त्रालयको टोलीले सोमबार गरेको अनुगमनपछि बन्द भएको कालिमाटी बजार भोलि (बुधबार) बाट खुल्ने भएको छ । कृषि मन्त्रालय र व्यवसायीबीच सहमति भएपछि बजार खुल्ने भएको हो ।

सोमबार गएको टोलीले गरेको अनुगमनमा बिना बिल बिक्री गर्न ल्याइएको २ वटा तरकारी ट्रक नियन्त्रणमा लिएको थियो ।

किसानले कति मूल्यमा बिक्री गरेको र कति मूल्यमा व्यवसायीसम्म पुग्यो भन्ने कुराको लेखा राखिनु पर्ने कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीले बताए ।

‘व्यवसायीले किनेको दर, बिक्री गरेका परिणाम र विक्री गरेको दर चाहिन्छ भनेका छाँै, व्यवसायीहरुलेपनि लेखा परीक्षणपछि त्यसलाई निरन्तरता दिने बताएका छन्, उनीहरु भोलिबाट नै बजार खोल्न सहमत भएका छन्, भोलिबाट कालिमाटी बजार खुल्नेमा हामी ढुक्क छौँ,’ सुवेदीले भने ।

उनले उत्पादकले उचित मूल्य पाउन्, बिक्रेताले नियम अनुसार बिक्री गरुन्, उपभोक्ताले धेरै महंगोमा खरिद गर्नु नपरोस् र बीचमा अरु बिचौलिया नआओस् भनेर मन्त्रालयले काम गरिरहेको बताए ।

उनले कालिमाटीपछि उपत्यका बाहिरपनि अनुगमन गर्ने जानकारी दिए ।
अब बजार बाहिर अनुगमन गरेर उत्पादकको सहजीकरण र व्यवसायीको समस्यालाईपनि सुधार गर्ने तरिकाले अघि बढ्न लागिएको उनले बताए ।
उनले व्यवसायी र किसानहरुको क्षति न्यूनीकरण गर्नका लागि समाधान खोज्ने तयारीमा मन्त्रालय रहेको बताए ।

‘डोकोमा तरकारी आउँछ, आदि कुहिएर जान्छ, डोकोको साट्टा अरु कुनै साधन दिन सके तरकारी कुहिने समस्या कम हुन्थो र व्यवसायीले गर्ने रेटिङमापनि कम हुन सक्ने विषयमा हामी काम गर्नेछौँ, यसका लागि क्रेट बाडेर हुन्छ कि कसरी हुन्छ सोच्दैछौँ,’ सुबेदीले भने ।

उनले बजारमा सुरुदेखि नै लेखा परीक्षण राख्ने व्यवस्था नभएको र अहिलेसम्मपनि त्यसरी नै चलेको हुनाले त्यसमा सुधार ल्याउन व्यवसायीहरुलाई लेखा परीक्षणको प्रशिक्षण दिइने बताए ।

उनले व्यवसायीसँग कारोबारको रेकर्ड नहुने र त्यसले गर्दा कतिमा खरिद भयो र कतिमा बिक्री भयो समेत थाहा नहुने भएकाले समस्या उत्पन्न भएको बताए ।
लेखा परीक्षणका लागि व्यवसायी संघसँग मिलेर उनीहरुलाई लेखा प्रणाली प्रशिक्षण दिने उनले बताए ।

व्यवसायीहरुले क्षमता विकास नगरी यस्तो कदम उठाएको भनेर गुनासो गरे, सरकारले क्षमता विकासको प्रशिक्षण दिने भनेपछि व्यवसायीहरुले बजार बन्द नगर्ने प्रतिबद्धता जनाएको सुवेदीले बताए ।

यस्तै, फलफूल तथा तरकारी बजार व्यवसायी संघका अध्यक्ष खोमप्रसाद घिमिरेले भोलि बिहान ८ बजेसम्मलाई मात्र बजार खोलिने बताए ।

उनले आम उपभोक्तालाई हुने असुविधालाई ध्यानमा राख्दै बिहान ८ बजेसम्म बजार खुल्ला गरिने बताए ।

‘बिहान ८ बजेसम्म बजार खुल्ला हुनेछ, तर आन्दोलन रोकिदैन,’ घिमिरेले भने ।

बिचौलिया हटाउन अध्ययन समिति गठन
यता, सरकारले कालिमाटी बजारमा भएको बिचौलिया हटाउन अध्ययन समिति गठन गरेको छ । कृषि मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आज भएको बैठकले तरकारी बजारलाई व्यवस्थित गर्न अध्ययन समिति गठन गर्ने निर्णय लिएको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

तरकारी बजार व्यवस्थापनका लागि के के गर्ने भनेर सिफारिस गरी कालिमाटी बजारमा तरकारी मूल्य र गुणस्तरमा केन्द्रित भई केहीदिन भित्र अध्ययन गरी सुझाव दिनका लागि समिति गठन गरिएको मन्त्रालय श्रोतले जानकारी दिएको छ ।


क्लिकमान्डु