मुख्यमन्त्री पौडेलले गरे प्रदेश ३ का मन्त्रालयको अनुगमन, आवश्यक कानून छिटो बनाउन निर्देशन



हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कानुन बिना कुनैपनि काम गर्न नसकिने भएकाले आफ्नो मन्त्रालयलाई आवश्यक कानून यथासक्य चाँडो निर्माण गर्नका लागि निर्देशन दिएका छन् ।

प्रदेशका मन्त्रालयले गरेका कामको प्रगतिका बिषयमा अनुगमनका क्रममा आज उद्योग, पर्यटन, वन तथा वातावरण भन्त्रालयमा भएको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

यो बर्ष प्रदेश सरकारले उद्योग बर्ष मनाउन लागेपनि उद्योग सम्बन्धी कानूनको अभाबमा काम गर्न समस्या भएको उनले बताए ।

वन मन्त्रालयले जग्गा नदिंदा उद्योग भित्रयाउन, एकीकृत बस्ती बसाल्नका लागि समस्या भएको छ । मुख्यमन्त्री पौडेलले भने–‘अहिले हामीहरु बस्ती बिकासमा लागेकाले यसमापनि सरकारी जमिनको धेरै नै आबस्यक्ता रहेको छ ।’

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले अहिले वन अतिक्रमण धेरै नै भएकाले यसको तथ्याङ्क संकलनको काममा आफुहरु लागिपरेको बताए । पहिले बजेट कसरी बनाउने भन्ने चिन्ता थियो भने अहिले बजेट कसरी कार्यन्वयन गर्ने भन्ने चिन्तामा रहेको उनले बताए ।

पर्यटन क्षेत्रको संरचना निर्माण गर्नका लागि समस्या भएको बताउँदै उनले भने– तरपनि केही नयाँ काम गर्ने गरी योजना बनाइरहेका छौं ।

कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुखसचिब आनन्दराज ढकालले कुनैपनि संरचना खडा गरी करारमा कर्मचारी नियुक्ती गरेर प्रदेश सरकारले खर्च धान्न नसक्ने बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब शिबकुमार वाग्लेले मन्त्रालय स्थापना भएदेखिको प्रस्तुतीकरण गरेका थिए ।

मुख्यमन्त्री पौडेल आफु मातहतका मन्त्रालयहरुमा गरिएका कामका बिषयमा अनुगमन गर्ने क्रममा आज उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गएका हुन् । सो प्रदेशका छ वटा मन्त्रालयमा मुख्यमन्त्रीले अनुगमन गर्न शुरु गरेका हुन् ।


क्लिकमान्डु