राष्ट्र बैंकलाई अर्थसमितिको निर्देशनः यी ८ विवरण ७ दिनभित्रमा दिनु




काठमाडौं । संसदको अर्थसमितिले नेपाल राष्ट्र बैंकलाई ७ दिन भित्रमा विभिन्न विवरण उपलब्ध गराइ दिन निर्देशन दिएको छ । समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

बैंकहरुमा अल्पकालिन निक्षेप हुने र नेपालको आर्थिक विकासका लागि दीर्घकालिन लगानीको आवश्यकता भएको भन्दै समितिले दीर्घकालिन लगानी सुनिश्चितताको लागि नेपाल राष्ट्र बैंकले गरेको पहलको विवरण मागेको छ ।

यस्तै समितिले बैंकहरुमा सर्बसाधारणले राख्ने र लिने कर्जाको औसत अवधिको विवरण पनि मागेको छ ।

नेपाल राष्ट्र बैंकले सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा कार्यालय पुर्याउन पहल गरिरहेको छ । कहिलेसम्ममा सबै स्थानीय तहमा बाणिज्य बैंकका शाखा पुगिसक्ने हो त्यसको विवरण पनि दिन समितिले निर्देशन दिएको छ ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थामा मर्जर र एक्वीजीसनको लहरै चलेको छ । समितिले यो बिषयमा पनि राष्ट्र बैंकसँग विवरण मागेको छ । मर्जर र एक्वीजीसनले परेको प्रभाव र असर बारे पनि ७ दिन भित्रमा विवरण दिन समितिले राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

यस्तै समितिले विगत ५ बर्षयताको बैंकिङ क्षेत्रको निक्षेप र कर्जाको विवरण पनि माग गरेको छ ।

समितिले विगत ५ बर्षयताको मौद्रिक नीतिका मुख्य बुदाहरु र ती विषय कार्यान्वयनको अवस्था पनि मागेको समितिका सभापति महन्थ ठाकुरले जानकारी दिए । समितिको बैठक जेष्ठ सदस्य ठाकुरको अध्यक्षतामा बसेको हो ।

समितिले यसअघि पनि राष्ट्र बैंकलाई विभिन्न प्रकारका निर्देशनहरु दिने गरेको थियो । विगतमा दिएका निर्देशन कार्यान्वयको अबस्था के कस्तो छ सो बारेको विवरण पनि दिन राष्ट्र बैंकलाई निर्देशन दिइएको छ ।

बैठकमा अधिकांश सांसदहरुले मौद्रिक नीति कार्यान्वयनप्रति शंका गरेका थिए । समितिले राष्ट्र बैंकसँग मौद्रिक नीति कार्यान्वयनको योजना पनि माग गरेको छ ।


क्लिकमान्डु