आज र भोलि चितवनका सुन पसल बन्द, माग अनुसार सुन नपाएको व्यवसायीको गुनासो



चितवन । माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ । सङ्घले विज्ञप्ति जारी गरी दुई दिन सुन पसल बन्द गर्ने जानकारी गराएको छ ।

सङ्घका जिल्ला अध्यक्ष जीवनज्योती सदाशंकरद्वारा जारी विज्ञप्तिमा मागअनुसार सुन नपाएको हुँदा आन्दोलन गर्नुपरेको उल्लेख छ ।

सरकारसँग पटक–पटक आवश्यक सुन उपलब्ध गराउन आग्रह गरिए पनि सुनुवाइ नभएको विज्ञप्तिमा उल्लेख छ ।

चाडपर्वको समयमा सुनको माग बढेकाले सरकारलाई दबाब दिन सुन पसल बन्द गर्नु परेको सङ्घले जनाएको छ । “पर्याप्त मात्रामा सुन नआएकाले ग्राहकलाई उपलब्ध गराउन सक्ने अवस्था छैन,” विज्ञप्तिमा भनिएको छ ।

जिल्लामा करीब पाँच सय सुनचाँदी पसलमा सातामा पाँच किलो सुनका गरगहनाको माग हुने गरेपनि नेपाल राष्ट्र बैंकमार्फत दुई किलो मात्र सुन आउने गरेको व्यवसायीले बताएका छन् ।


क्लिकमान्डु