नेपालमा पहिलो पटक कुखुरापालन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



काठमाडौं । नेपालमा पहिलो पटक कुखुरा पालन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले नेपालमै पहिलो पटक कुखुरा पालन र सो क्षेत्रको अध्ययन, अनुसन्धान, विकासमा निरन्तर कार्य गरिरहेका वैज्ञानिकहरुको सम्मेलन गर्न लागेको हो ।

यो सम्मेलनलाई अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम २०१८ नाम दिइएको छ । अन्तर्राष्ट्रिय पोल्ट्री सिम्पोजियम कात्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनमा हुन लागेको हो ।

सिम्पोजियममा अष्ट्रेलिया, जर्मनी, बंगलादेश, इजिप्ट, जापान, भारत लगायतका १० देशका ५० भन्दा बढी वैज्ञानिकहरुले सहभागिता जनाउने पशु तथा पन्छी विभागले जानकारी दिएको छ ।

नेपाल मासु र अण्डामा मात्र आत्मनिर्भर भएको, तर दाना अझैपनि आयात गर्नुपर्ने बाध्यता भएकाले यस विषयलाई सम्मेलन मार्फत समाधान खोजिने पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलले बताए ।

‘पहिलो २ सय कुखुरा दिने त्यसपछि उनीहरुलाई व्यवसायिक कुखुरा पालनलाई जोड दिन नीतिगत छलफलपनि गरिने छ,’ महानिर्देशक निर्मलले भने ।
‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने नाराका साथ सम्मेलन हुन लागेको छ ।

१ सय ८ दाना उद्योग, ४ सय भन्दा बढी कुखुरा फार्म नेपालमा रहेको छ । कुखुरा पालनमा करिब ८० अर्ब लगानी गरेको सम्मेलन मूल आयोजक समितिका अध्यक्ष शारदा थपलियाले जानकारी दिइन् ।

२ किलो दानाले १ किलो कुखुरा उत्पादन हुने भएकाले दाना बढी खर्च भएको उनले बताइन् । हामी मासुमा आत्मनिभर भएपनि दानामा भने आत्मनिर्भर हुन नसकेको बताइन् । उनले यो सम्मेलनले अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो प्रविधि छ भन्ने कुरापनि थाहा हुने र त्यसलाई नेपाल भित्राउन सकिने उनले बताइन् ।

सम्मेलनमा कुखुरा उत्पादन सम्बन्धी नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, कुखुराको अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि र एकिकृत तथा ग्रामिण कुखुरा पालन लगायतका विधाहरुमा वैज्ञानिक तथा अनुसन्धानमूलक कार्यपत्रहरु पेश गरिने छ ।

यो अन्तर्राष्ट्रिय सम्मेलन कृषि तथा वन विज्ञान विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकाय, रामपुर चितवनको सहयोगमा आयोजना हुन लागेको विभागले जानकारी दिएको छ ।

नेपालको कूल गार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कूल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ ।

नेपालमा व्यवसायिक कुखुरा पालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको छ ।

देशको कूल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु