आज अन्जु दम्पतीले ६ सय कमाउनेछन्




सिसडोल । मध्यान्हको चर्को घाम । सासै फेर्न मुस्किल हुने दुर्गन्ध । किरा सलबलाईरहेको फोहोरको डंगुर । फोहोरको डंगुरमा बेलाबेला आकाशबाट झम्टिने चिल । झिँगाको भुनभुनाहट । अनि फोहोरबाट निस्केको लिचेडको पानी ।

यी केहीको पनि वास्ता नगरी फोहोरमा निहुरिरहेकी अन्जु सेढाई । दुपट्टाले मुख छोपेकी अन्जुका पञ्जाविहिन हात फोहोरको डंगुरबाट प्लास्टिक छुट्याएर टिप्न अभ्यस्त भईसकेका छन् ।

काठमाडौंबाट फोहोरको डंगुर बोकेको गाडी सिसडोल पुग्छन् । त्यही गाडीले फोहोरसँगै ल्याएको प्लास्टिक टिप्ने कलामा अन्जु माहिर छिन् । २७ वर्ष पुगेकी अन्जु फोहोरको गाडी पर्खेर बस्छिन् ।

गाडीले फोहोर खसाउँन भ्याउँदा नभ्याउँदै अन्जु दौडिदै प्लास्टिक टिप्न पुग्छिन् ।

गाडीबाट फोहोर झरिनसक्दै प्लास्टिक टिप्न सकिएन भने कमाई हुँदैन । कमाई भएन भने खान पाईदैन । अन्जुको जिन्दगीको गाडी फोहोरको डंगुरमा दौडिदै चलेको छ ।

‘दौडदै गएर प्लास्टिक टिपेन भने डोजरले माटो हालेर पुरिन्छि,’ अन्जुले दौडिनुको कारण खोलिन् ।

बिहिबार मध्यान्ह काठमाडौंबाट पत्रकार र काठमाडौं महानगरपालिकाको टोली उपत्यकाको फोहोर ब्यवस्थापन गरिएको सिसडोल पुग्दा पनि अन्जु फोहोरबाट प्लास्टिक टिप्न व्यस्त थिईन् ।

हिलो बाटोका कारण फोहोर बोकेका गाडीको जाम थियो । गाडी जाम भएकै कारण अन्जुले एकछिन भएपनि फुर्सद पाएकी थिईन् । फुर्सदमा सुस्ताउँदै उनी हामीसँग कुरा गर्न राजी भईन् ।

‘हिजोआज त हिलोले गर्दा धेरै गाडी नै आउँदैनन्, हिउँदमा त काँ यसरी बस्न पाईन्छ र,’ प्लास्टिक भरिएको बोरा सार्दै अन्जु माटोको ढिस्कामा बसिन् । र, गफिन थालिन् । गाडी नआएपछि उनले फोहोर टिप्न पाउँदिनन् । फोहोर टिप्न सकिएन भने चुलो बल्दैन । बिहान ७ बजेदेखि साँझ ८/९ बजेसम्म उनको दिनचर्या फोहोर, प्लास्टिक र फोहोरका गाडीको सेरोफेरोमा वित्छ ।

‘ए ! हामी त खाना पनि यही खान्छौं,’ प्लाष्टिक टिप्दा हातमा टाँसिएका किरा पन्छाउँदै उनले भनिन् ।

गएको १० वर्षदेखि अन्जु सिसडोलमा प्लास्टिक टिप्दैछिन् । उपत्यकावासीले कामै नलाग्ने भनेर फालेको फोहोरले अन्जु जस्तै सयौं अरुको गुजारा चलेको छ ।

सिसडोलमा फोहोर टिपेरै आम्दानी गर्नेहरु ३ सय जति छन् ।

‘अहिले मात्रै ३ सय जति मान्छे हुन्छन्, दशैँको बेला त याँ पाईला टेक्ने ठाउँ पनि हुँदैन, ५ सयभन्दा धेरै मान्छे हुन्छन् होला, फोहोर टिप्नेहरुबीच नै हानथाप हुन्छ,’ डार्विनको ‘सर्भाइबल फर फिटेस्ट थ्योरी’ स्मरण गर्न बाध्य हुने गरी उनले यथार्थ सुनाइन् ।

‘अहिले मात्रै ३ सय जति मान्छे हुन्छन्, दशैँको बेला त याँ पाईला टेक्ने ठाउँ पनि हुँदैन, ५ सयभन्दा धेरै मान्छे हुन्छन् होला, फोहोर टिप्नेहरुबीच नै हानथाप हुन्छ,’ डार्विनको ‘सर्भाइबल फर फिटेस्ट थ्योरी’ स्मरण गर्न बाध्य हुने गरी उनले यथार्थ सुनाइन् ।

फोहोरबाटै गुजारा चलाउनेका लागि सिसडोलमा काठमाडौंको फोहोर नआउँदा जीवन नै शून्य भएजस्तो लाग्छ । खानै नपाईएला कि भन्ने पिर पर्न थाल्छ ।

कहिलेकाहीँ सडक तथा अन्य कारणले काठमाडौंबाट सिसडोलमा फोहोर नपुग्दा अन्जु डराउँछिन् । उनलाई पिर पर्न थाल्छ ।

‘एक दुई दिन फोहोरको गाडी आएन भने याँ के खाउँ र के लाउँ हुन्छ, छोराछोरीलाई के खुवाउने, आफु के खाने भन्ने हुन्छ,’ उनले भनिन् ।

१३ वर्षको उमेरमा गाउँकै तिलक सेढाईसँग विवाह गरेकी अन्जु ४ सन्तानकी आमा हुन् ।

‘होइन, तिम्रो त पाँच सन्तान होइनन् र भन्या ?’ अन्जुले आफु चार सन्तानकी आमा हूँ, भनेपछि उनीसंगै फोहोर टिपिरहेकी एक महिलाले प्रश्न गरिन् ।

कुपोषणले गर्दा उनको बच्चा ९ महिनामै मरेको थियो । यदि त्यो बच्चा नमरेको भए आज अन्जु आफुलाई सगर्व ५ बच्चाकी आमा हुँ भन्ने थिईन् ।

‘मरिसकेको बच्चलाई पनि के गन्नु,’ अन्जुले मसिनो स्वरमा जीवनको अर्काे पाना खोलिन् ।

कुपोषणले गर्दा उनको बच्चा ९ महिनामै मरेको थियो । यदि त्यो बच्चा नमरेको भए आज अन्जु आफुलाई सगर्व ५ बच्चाकी आमा हुँ भन्ने थिईन् ।

लगातार गाडी आउने हो भने एक जनाले दिनमा २ बोरासम्म प्लास्टिक टिप्न सक्छ । एक बोरा प्लास्टिकको ३ सय रुपैयाँ मूल्य तोकिएको छ । संकलित प्लास्टिक फेरि काठमाडौं नै आईपुग्छ ।

सेढाई दम्पती नै फाहोरमा प्लास्टिक टिप्ने गर्छन् । फोहोरबाट प्लास्टिक टिपेर महिनाभरमा उनीहरुले ६ देखि ८ हजार रुपैयाँ आम्दानी गर्छन् ।

‘पढाई लेखाई छैन, खेति गरौं भने जमिन छैन, त्यही भएर फोहोर टिप्ने काम गर्छौं, पढाई लेखाई नभएपछि जागीर पनि नपाईदो रहेछ,’ उनले जीवन भोगाइको अर्काे पाटो खोलिन् ।’

‘भूकम्पले घर भत्काएपछि ५ डोका मकै फल्ने बारीमा छाप्रो बनाएँ, पहिले मकै त खान पाईन्थ्यो, अहिले त त्यो पनि किन्नुपर्छ,’ उनको वहको पोको बल्ल राम्ररी फुकेको थियो ।

२०७२ को भूकम्पमा सेढाई परिवारको घर भत्कियो । घर भत्किएपछि सेढाई दम्पतीले ५ डोका मकै फल्ने बारीमै अस्थाई बसेरा बनाएका छन् ।

‘भूकम्पले घर भत्काएपछि ५ डोका मकै फल्ने बारीमा छाप्रो बनाएँ, पहिले मकै त खान पाईन्थ्यो, अहिले त त्यो पनि किन्नुपर्छ,’ उनको वहको पोको बल्ल राम्ररी फुकेको थियो ।

‘वस्तुभाउ पाल्न हुन्थ्यो, फोहोरको गन्धले भएका वस्तुभाउ पनि मर्छन्, बाख्रा पालेकी थिएँ, ती पनि प्लास्टिक खाएरै मरे,’ अगाडीको फोहोरको थुप्रोमा मुख जोतिरहेका बाख्रा धपाउँदै उनी भन्दै गईन् ‘केही गर्न नसकेपछि यही फोहोर टिपेर भएपनि गुजारा चलाउनै पर्यो ।’

महानगरले फोहोर प्रभावित क्षेत्रकालाई क्षतिपुर्ति स्वरुप पैसा दिएको थियो । तर, सेढाई परिवारले भने महानगरले दिएको क्षतिपुर्ति पाएन । ल्याण्डफिल साईटबाट करिब १० मिनेटको दुरीमा रहेको बिरुवा टोलमा बस्ने अन्जुले महानगरले दिएको क्षतिपुर्ति पाईनन् । के कति कारणले उनलाई क्षतिपुर्ति दिईएन, उनले आजसम्म थाहा पाएकी छैनन् ।

‘हाम्रो घर फोहोर प्रभावित क्षेत्रमा परेन भनेर पैसा दिएनन् तर, सबैभन्दा धेरै प्रभावित त हामी नै छौं,’ चर्को घामले अनुहार पोलेपछि हातले घाम छेक्न खोज्दै अन्जुले भनिन् ।

बिहानदेखि साँझसम्म फोहोरको थुप्रोमा नंग्रा खियाउने अन्जुजस्ता धेरै महिलामा टाउको दुख्ने, वाकवाकी लाग्नेलगायतका समस्या देखिने गरेको छ ।

‘फोहोरले बिरामी हुन्छौं भन्ने त थाहा छ नि, फोहोरमा नआई खान पाईदैन, रातभरी टाउको दुख्छ, वाकवाकी लाग्छ, तर के गर्नु, बाँच्नै पर्यो, छोराछोरी पाल्नै पर्यो,’ उनको जीवनमा ‘वाध्यताको अर्थशास्त्र’ सायद यही थियो ।

‘फोहोरले बिरामी हुन्छौं भन्ने त थाहा छ नि, फोहोरमा नआई खान पाईदैन, रातभरी टाउको दुख्छ, वाकवाकी लाग्छ, तर के गर्नु, बाँच्नै पर्यो, छोराछोरी पाल्नै पर्यो,’ उनको जीवनमा ‘वाध्यताको अर्थशास्त्र’ सायद यही थियो ।

अन्जुकी दिदी पनि केही वर्ष पहिलेसम्म सिसडोलमै फोहोर टिप्थिन् । तर, अहिले दिदी छैनन् । दिदीको सम्झना स्वरुप दिदीको छोरा छ । ४ वर्ष पहिले फोहोर टिप्दै गर्दा फोहोरकै गाडीले कुल्चेर मरिन्, दिदी ।

‘दिदीको छोरा पनि मसँगै छ, यहाँको पैसाले खान पनि राम्रोसँग पुग्दैन, कसरी सन्तान पाल्ने ?’ फोहोरको दुर्गन्धमा समेत उनले लामो श्वास तान्दै भनिन् ।

‘हाम्रो त जन्म पनि फोहोरमै, मृत्यु पनि फोहोरमै हुन्छ,’ हातमा माटोको डल्ला खेलाउँदै सेढाईले आकाशतर्फ हेरिन् ।

चर्को घामले असिन पसिन भएका पत्रकारले मुखमा मास्क लगाएका थिए । आँखामा चस्मा लगाएका थिए । खुट्टामा बलियो जुत्ता लगाएका थिए । तर, फोहोर टिप्ने अन्जुका हात खाली थिए । हातमा सिसाले काटेका दाग थिए । प्लास्टिक र बोराले खुट्टा बेरिएको थियो । पसिनाले शरिर भिजेको थियो । श्वास पनि राम्रोसँग फेर्न नसकिने ठाउँमा अन्जु पत्रकारसामु आफ्नो जीवनकथाका पाना पल्टाउँदै थिइन् ।

अहिले फोहोर संकलन गर्नेहरुसँग पनि ककनी गाउँपालिकाले कर लिने गर्छ । गाउँपालिकाले प्रतिगाडी ५ सय रुपैयाँ कर उठाउने गरेको अन्जुले सुनाईन् ।

‘हामी गरिबलाई सरकारले अरु त केही दिदैन, कमसेकम फोहोर उठाएको पैसा त नलिनु नि, फोहोर उठाएर कमाएको पैसा सरकारले नमागिदिए मात्रै पनि छोराछोरी राम्रोसँग पाल्थेँ,’ गाउँकै सिंहदरबार ककनी गाउँपालिकाले नसुनेको उनको यो माग देशको सिंहदरवारले झन् सुन्दैन होला ।

‘बर्षामा फोहोरको गाडी त्यसैपनि धेरै आउँदैनन्, त्यसमाथि सरकार हामीसँग पनि पैसा लिन्छ,’ अन्जुको स्वर एकाएक अलि चर्काे भयो, ‘हामी गरिबलाई जसरी पनि मार्ने ?’ अलि चर्काे स्वरमा अन्जुले गरेको प्रश्न पनि फोहोरको दुर्गन्ध जसरी फैलिने भए ?

फोहोरको पनि कर नउठाईदिए र निर्वाध फोहोर संकलन गर्न पाए गुजारा चलाउन सक्छु भन्छिन् अन्जु ।

‘हामी गरिबलाई सरकारले अरु त केही दिदैन, कमसेकम फोहोर उठाएको पैसा त नलिनु नि, फोहोर उठाएर कमाएको पैसा सरकारले नमागिदिए मात्रै पनि छोराछोरी राम्रोसँग पाल्थेँ,’ गाउँकै सिंहदरबार ककनी गाउँपालिकाले नसुनेको उनको यो माग देशको सिंहदरवारले झन् सुन्दैन होला ।

सरकारले बञ्चरे डाँडामा फोहोर फाल्ने भएपछि अन्जुलाई पिर परेको थियो । तर, यतिका वर्ष बञ्चरे डाँडा तयार नहुँदा भने उनी खुशी छिन् । बंञ्चरे डाँडामा फोहोर टिप्न प्रतिबन्ध लगाईनेछ । बंञ्चरे डाँडा नबनेकै कारण आफुहरुको छाक टरेको उनको बुझाइ छ ।

‘दशैँ पछाडिदेखि फोहोर टिप्न नदिने हल्ला छ, फोहोर पनि टिप्न पाईएन भने हामी कसरी बाँच्ने ?’ आफू बाचुन्जेल सिसडोल नभरिए हुन्थ्यो भन्ने कामना छ उनको ।

१३ वर्षमा विवाह गरेकी अन्जुका सन्तान उनलाई खाना पुर्याउन कहिलेकाहीँ ल्याण्डफिल्ड साईटमा आउँछन् ।

‘आमाले यसरी फोहोरको थुप्रोमा काम गरिरहेको देखेपछि अध्याँरो मुख लगाएर जान्छन् छोरोछोरी,’ यस्तो भन्दै गर्दा अन्जुको शिर केही झुकेको देखिन्थ्यो ।

‘गरिबले सपना देख्नु हुँदैन भन्छन्, तर पनि मेरा छोराहरु पुलिस भए हुन्थ्यो जस्तो लाग्छ,’ अन्जुले यसो भन्दै गर्दा छेउमै बसिरहेका उनका श्रीमान् तिलकको अनुहारमा गर्वभाव झल्कन्थ्यो ।

आफूले जे जस्तो गरेपनि छोराहरुलाई भने प्रहरी बनाउने उनको सपना छ । अन्जुका दुई छोरा र दुई छोरी छन् ।

‘गरिबले सपना देख्नु हुँदैन भन्छन्, तर पनि मेरा छोराहरु पुलिस भए हुन्थ्यो जस्तो लाग्छ,’ अन्जुले यसो भन्दै गर्दा छेउमै बसिरहेका उनका श्रीमान् तिलकको अनुहारमा गर्वभाव झल्कन्थ्यो ।

‘मैले त यस्तो जिन्दगी पाएँ, तर छोराछोरीले यसो नगर्न परे हुन्थ्यो लाग्छ हजुर,’ अन्जुले टाउकोमा लगाएको क्याप मिलाउँदै भनिन् ।

यो क्याप पनि उनले फोहोरको थुप्रो मै भेटाएकी हुन् ।

फोहोरको दुर्गन्धमा मास्क र पञ्जा नलागाईकनै फोहोर टिपिरहेकी अन्जुलाई आफ्नो स्वास्थ्यको भन्दा छोराछोरीले खान नपाउलान् कि भन्ने पीर हुन्छ । टाउको दुख्दा, वाकवाक लाग्दा नजिकैको स्वास्थ्य चौकी जान्छिन् र सिटामोल बोकेर फर्किन्छिन् ।

‘हुने खानेको कुकुरलाई पनि मासुभात हुन्छ, हामी गरिबले फोहोर टिपेर कमाएको पैसा पनि देखिसहँदैनन्,’ उनको यो आक्रोश फोहोर संकलकसँग कर लिने गाउँपालिकाको निर्णयतर्फ केन्द्रीत थियो ।

‘यहाँ काम गर्नेहरु १० वर्ष अगाडी नै मर्छन्,’ अन्जुले आफुलाई आधा उमेरको बताउनुको रहस्य खोलिन् ।

सायद जिन्दगीले उनलाई बिद्रोह सिकाएको छ । त्यसैले होला, २७ वर्षलाई आधा जिन्दगी ठान्ने अन्जु आफुहरुलाई फोहोर उठाएर पनि खान नदिए फोहोरका गाडी प्रवेश नै गर्न नदिने बताउँछिन् ।

‘यहाँ काम गर्नेहरु १० वर्ष अगाडी नै मर्छन्,’ अन्जुले आफुलाई आधा उमेरको बताउनुको रहस्य खोलिन् ।

‘तर मर्नु अगाडि नै छोराछोरीले केही गरेको देख्न पाए हुन्थ्यो, एकछिनको मौनतापछि उनी फेरि बोलिन्, ‘…के गर्नु हजुर, गरिबले सपना देख्नु हुँदैन भन्छन्, तैपनि छोराछोरीका लागि भने सपना कति छन कति…।’

कहिलेकाहीँ अन्जुलाई लाग्दो हो, ‘कतै मेरो सपना पनि यसरी फोहोरको डंगुरमै कुहिने त होइनन् ?’ लालाबालालाई च्यापेर राती सुतिरहँदा अन्जु सोच्दी हुन्, ‘जीवनका सारा दुःख कुनै ल्याण्डफिल्ड साईटमा लगेर फाल्न पाए…..।’

अन्जुको वाक्य पूरा हुनै पाएन । उताबाट फोहोरको गाडी आयो । उनी हतारिदै फोहोरको गाडीतर्फ दौडिइन् । घाम लागेको दिन थियो । आज सेढाई दम्पतीले कम्तीमा पनि ६ सय रुपैयाँ कमाउनेछन् ।

कहिलेकाहीँ अन्जुलाई लाग्दो हो, ‘कतै मेरो सपना पनि यसरी फोहोरको डंगुरमै कुहिने त होइनन् ?’ लालाबालालाई च्यापेर राती सुतिरहँदा अन्जु सोच्दी हुन्, ‘जीवनका सारा दुःख कुनै ल्याण्डफिल्ड साईटमा लगेर फाल्न पाए…..।’


क्लिकमाण्डू