वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास



काठमाडौँ । वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ ।

वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।

“यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय र व्यवसायीसँग मन्त्रालयले छलफल अगाडि बढाइरहेको छ”, दाहालले भने ।

उनले एक महिनाभित्रै अनलाइन प्रणाली शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ भन्दै कसरी जाने भन्ने कुरा टुङ्गो लागि नसकेकाले अनलाइन सञ्चालनमा ढिलाइ भइरहेको बताए ।

यो प्रणालीको विकास भइसकेपछि नेपाली कामदार विदेश जाँदादेखि आउँदासम्मको सम्पूर्ण विवरण अनलाइनमा स्वतःरहनेछ । वैदेशिक रोजगारीमा जानेको विवरण मन्त्रालयसँग भए पनि फर्कने कति छन्, त्यसको वास्तविक विवरण मन्त्रालयसँग छैन ।

नेपाली अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमा फर्किसकेपछि कुन अवस्थामा छन्, उनीहरुको व्यवस्थित तथ्याङ्क संकलन गर्न अनलाइन प्रणालीको विकास गर्न लागेको हो ।

श्रम कार्यालयसँग अनलाइन प्रणाली नहुँदा वैदेशिक रोजगारीबाट फर्किसकेपछि फेरि जाने श्रमिकको तथ्याङ्क दोहोरिने गरेको छ । जसले तथ्याङ्कमा समेत दोहोरोपनाको अवस्था देखिएको छ । अनलाइन प्रणाली शुरु भइसकेपछि तथ्याङ्क संकलनमा सुधार आउने विश्वास लिएको छ ।

विदेशमा मजदुरी गर्ने सम्पूर्ण कामदारको नामथर, ठेगाना, राहदानी नम्बरलगायत विदेशमा गरेको काम, उसको अनुभवलगायत सम्पूर्ण जानकारी राख्न अनलाइन प्रणालीको थालनी गर्न लागिएको मन्त्री गोकर्णराज विष्टले बताउँदै आएका छन् ।

वैदेशिक रोजगारीबाट फर्किसकेपछि श्रमिकसँग तपाईले कुन सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ लगायतका कुरा विमानस्थलमा नै सोधिने छ । जसबाट स्वदेशमा नै उनीहरुलाई रोजगारी दिन सहजता आउनेछ ।

श्रमिकको अनुभवका आधारमा उसलाई स्वदेशभित्रै रोजगारीको अवसर सिर्जना गर्न अनलाइनमार्फत थप सहजता आउने मन्त्रालयको विश्वास छ ।


क्लिकमान्डु