किन प्रभावकारी हुन सकेनन् लगानी बोर्डले प्रवर्द्धन गरेका आयोजना ?



काठमाडौं । सरकारले ठूला लगानी भित्र्याएर आर्थिक समृद्धिको लागि भन्दै स्थापना गरेको लगानी बोर्ड पछिल्लो समयमा प्रभावकारी हुन सकेको छैन ।

बोर्डले आगाडि बढाएका डेढ दर्जनभन्दा बढी परियोजनामध्ये हालसम्म २ वटा परियोजना मात्रै अगाडि बढेका छन् ।

भारतीय कम्पनी सतजल विद्युत् निगमले प्रवद्र्धन गरेको अरुण तेस्रो र चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानी रहेको होङशी शिवम् सिमेन्ट मात्रै अगाडि बढेको छ ।

होङसी शिवम् सिमेन्टले उत्पादन सुरु गरेको छ । सतजलले सुरुङ निर्माणको काम सुरु गरेको छ । ती बाहेक अरु आयोजना अगाडि बढ्न सकेका छैनन् ।

भारतीय लगानीकर्ता जिएमआरले निर्माण गर्ने भनिएको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन कहिले हुने र विद्युत् खरिद सम्झौता कहिले हुने हो त्यसको कुनै ठेगान छैन ।

बोर्डले हालसम्म करीब ६ खर्ब रुपैयाँ बराबरका डेढ दर्जन परियोजना सुरु गरेको दावी गरेपनि काम भने न्यून मात्रामा मात्रै सुरु भएका छन् ।

बोर्डले प्रवद्र्धन गरेको चीनको हुवासिन सिमेन्ट उद्योग निकट भविस्यमा नै सुरु हुन लागेको छ । सो परियोजनामा १४ अर्ब रुपैयाँ लगानी भित्रँदैछ ।

लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती आयोजना बोर्डले प्रवद्र्धन गरेको छ । तर सो परियोजनाको भविस्य के हुने हो भन्ने बारेमा हालसम्म कोही कसैले पनि बताउन सक्दैनन् ।

केही दिनपहिले मात्रै बोर्डले काठमाडौँ उपत्यकाको फोहर मैला व्यवस्थापनसम्बन्धी परियोजनालाई टुङ्गो लगाएको छ ।

यस्तै काठमाडौँ मेट्रो र मोनोरेल, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, वीरेठाँटी मुक्तिनाथ केबलकार, सिसा उद्योग, स्की रिसोर्ट, से–फोक्सुण्डोमा सुविधा सम्पन्न रिसोर्टलगायत परियोजना पनि बोर्डले अगाडि सारेको छ ।

रासायनिक मल कारखाना स्थापना गर्ने योजनामा भने पछिल्लो समय बोर्ड करिब करिब चुप चापको अवस्था छ ।


पुष्प दुलाल