पुनः कोरिया जानेलाई भदौ ८ गतेदेखि परीक्षा हुने
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाका अनुसार त्यस्तो परीक्षा आगामी भदौ ८ गतेदेखि हुनेछ ।
कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्न लागिएको हो ।
शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गत वैशाख १७ गते सञ्चालन गरेको थियो ।
यसैबीच सन् २०१८ को भाषा परीक्षा उतीर्ण गरी उत्पादनमुलक र कृषि तथा पशुपालनतर्फ छनोट भएका उम्मेदवारको आगामी भदौ ४ देखि ११ गतेसम्म स्वास्थ्य परीक्षण हुने छ ।
कुन कुन अस्पतालमा स्वास्थ्य परिक्षण
मीनभवनस्थित निजामती अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलस्थित पाटन अस्पताल र थिमीस्थित कोरिया नेपाल मैत्री अस्पतालमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको शाखाका निर्देशक खनालले जानकारी दिए ।
गत जेठ २६ र २७ गते लिइएको नवौँ चरणको कोरियन भाषा परीक्षामा सात हजार ९९६ जना उतीर्ण भएका थिए ।