सेञ्चुरी बैंकले खोल्यो गण्डकी प्रदेश कार्यालय, एकै साथ ८ शाखा उद्घाटन



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा उल्लेख भए अनुसार पहिलो पटक गण्डकी प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । साथै गण्डकी प्रदेश अन्तर्गत ८ वटा शाखा कार्यालय एकै साथ उद्घाटन गरेको छ ।

बैंकले गण्डकी प्रदेश अन्तरगत बगर, बिरौटा, तालचोक, दुलेगौंडा, भिमाड, कुस्मा, बाग्लुङ र बेनीमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

उक्त गण्डकी प्रदेश कार्यालयको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री किरण गुरुङ्ग र बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । साथै, ८ वटा शाखा कार्यालयको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधिहरु, व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती रहेको थियो । नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।

शाखा कार्यालयहरुको उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप एकसठ्ठी अरब बत्तीस करोड तथा कूल कर्जा पचपन्न अरब पुगेको छ ।


क्लिकमान्डु