वर्षमा २ अर्ब तलब खाने सीईओ इन्द्राले दिइन् राजीनामा



काठमाण्डौ । पेप्सीको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत इन्द्रा नोयीले राजीनामा दिएकी छिन् ।

पेप्सीको कम्पनीमा १२ वर्षदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत इन्द्राले आफ्नो ट्वीटरमार्फत राजीनामा दिएको बताएकी हुन् । उनको स्थानमा अब रामोन लागुर्ता आउने बताईएको छ ।

२४ वर्ष देखि पेप्सी कम्पनीमा कार्यरत इन्द्राले १२ वर्ष कम्पनीको आर्थिक विभाग सम्हालेकी थिइन् । भारतमा जन्मेकी इन्द्रा संसार कै उत्कृष्ट महिला सीईओमा गनिन्थिन् ।

संसारका ठूला ५ सय कम्पनी मध्ये ५ प्रतिशत कम्पनीमा मात्रै महिला सिईओ थिए । इन्द्रा यिनै पाँच प्रतिशत मध्ये एक हुन् । ६२ वर्षिया इन्द्रा सन् २०१७ मा फोब्र्स म्यागेजिनले तयार पारेको विश्वकै शक्तिशाली एक सय महिलाको सूचिमा ११ औँ स्थानमा परेकी थिइन् ।

इन्द्रा सन् २००६ मा पेप्सीको प्रमुख कार्यकारी अधिकृत बनेपछि पेप्सीको कारोबारमा ७६ प्रतिशतले बृद्धि भएको थियो । सिईओ पदबाट राजनीमा दिएपनि इन्द्राले सन् २०१९ को सुरुवातसम्म कम्पनीको अध्यक्षको रुपमा रहने छिन् ।

भारत सरकारले उनलाई पद्म भुषणले पनि सम्मान गरेको छ । पूर्व अमेरीकी राष्ट्रपती बाराक ओबामाले उनलाई युएस इन्डिया फोरममा समेत नियुक्त गरेका थिए ।

टोटल नामक कम्पनीबाट काम गर्न शुरु गरेकी इन्द्राको यात्रा जोनसन एण्ड जोनसन हुँदै पेप्सीसम्म पुगेको हो । इन्द्राले सिईओ हुँदा वार्षिक २ अर्ब तलब पाउने गर्थिन् । (एजेन्सीहरुबाट)


क्लिकमान्डु