राष्ट्र बैंकले भन्योः गलत गरेकोले होइन, हामीले नहेर्ने भएकोले सहकारी हटाएका हौं




काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत ब्यवस्थाको कारण सहकारी संस्थाहरुलाई आफ्नो नियामकीय दायराबाट अलग गरिएको बताएको छ । गत साउन २ गते गोरखापत्रमा प्रकाशित सुचनाले भ्रम पैदा गरेको गुनासो आएको भन्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

राष्ट्र बैंकले गत साउन २ गते सार्बजनिक सुचना प्रकाशित गरी सिमित बैंकिङ कारोबार गर्न अनुमति दिएको १४ सहकारी संस्थाहरुलाई आफ्नो नियामकीय दायराबाट अलग गरिएको जानकारी दिएको थियो ।

यसअघि प्रकाशित सूचनाबाट गलत सन्देश गएको भन्दै राष्ट्र बैंकले विज्ञप्ति प्रकाशित गरेको छ । नेपाल राष्ट्र बैकले ती १४ वटा सहकारी संस्थाहरुले सहकारी सम्बन्धी प्रचलित ऐन अन्तर्गत रही अन्य बचत तथा ऋण सहकारी संस्था सरह कारोबार गर्न सक्ने स्पष्ट पारेको छ ।

काठमाडौँका चार, काभ्रेपलाञ्चोकका दुई, कैलालीका दुई, सर्लाही एक, बाँके दुई, स्याङ्जा एक, मोरङ एक र नवलपरासीको एक सहकारी संस्थालाई राष्ट्र बैंकले नियामकीय दायराबाट अलग गरिएको सार्बजनिक सुचना प्रकाशित गरेको थियो ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा काठमाडौँका सगुन सहकारी संस्था क्षेत्रपाटी, नेपाल सहकारी वित्तीय संस्था नयाँ बानेश्वर, महिला सहकारी संस्था कुलेश्वर, हिमालय सहकारी संस्था पुरानो बानेश्वरको नाम समावेश रहेको थियो ।

त्यसैगरी, काभ्रेको बिन्दवासिनी बचत तथा ऋण र मनकामना सहकारी संस्था लि, कैलालीको नवजीवन सहकारी र किसान बहुउद्देश्यीय, सर्लाहीको द सहारा लोन सेभिङ कोअपरेटिभ्स सोसाइटी, बाँकेको सहकारी वित्तीय विकास संस्था र भेरी सहकारी वित्तीय संस्थाको नाम उल्लेख थियो ।

अन्य सहकारीमा स्याङ्जाको उपकार बचत तथा ऋण, मोरङको स्टार वहुउद्देश्यीय र नवलपरासीको बिकु बचत तथा ऋण सहकारी संस्थाको नाम पनि समावेश रहेको थियो ।
नेपाल राष्ट्र बैंकअन्र्तगतको बैंक तथा वित्तीय संस्था नियमन विभाग, बालुवाटारले सर्वसाधारणका लागि जारी गरेको सूचनामा ती सहकारी संस्थालाई सीमित बैंकिङ कारोबार गर्न रद्द गर्दै नियामकीय तथा सुपरीवेक्षकीय दायराबाट अलग गरिएको उल्लेख छ ।


क्लिकमान्डु