निक्षेप सुरक्षणको शुल्क घट्यो, सबै बैंकलाई पत्राचार गर्दै कोष




काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले खातावालाको रकम सुरक्षण गर्दा निक्षेप तथा कर्जा सुरक्षण कोषमा लाग्ने शुल्क घटेको छ ।

बैंकमा खाता खोल्ने ब्यक्तिको ३ लाख रुपैयाँसम्मको निक्षेपको अनिवार्य बीमा गराउनु पर्ने कानुनी ब्यवस्था छ । यस्तो बीमा गराउँदा बैंक तथा वित्तीय संस्थाहरुले कोषलाई १०० रुपैयाँको २० पैसाले शुल्क तिर्नुपर्ने ब्यवस्थामा परिवर्तन गर्दै शुल्क घटाइएको हो ।

कोषको संचालक समिति बैठकले शुल्क घटाएको कोषका कामु नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले जानकारी दिइन् ।

‘यस्तो शुल्क बोर्ड बैठकले परितवर्तन गर्न पाउने कानुनी ब्यवस्था छ, यही ब्यवस्थामा टेकेर संचालक समिति बैठकले शुल्क घटाएको हो,’ पौडेलले भनिन् ।

कोषले पहिलाको शुल्क १०० रुपैयाँको २० पैसा (०.२० प्रतिशत) लाई घटाएर १०० रुपैयाँको १६ पैसा (०.१६ प्रतिशत) बनाइएको छ ।

शुल्क घटेपछि कोषले सबै बैंक वित्तीय संस्थाहरुलाई पत्राचार गरी शुल्क घटेको जानकारी गराउने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले कोषलाई बुझाउने शुल्क बढी भएकोले घटाउन माग गर्दै आएका थिए ।

सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत बैंक तथा वित्तीय संस्थामा खाता खोलेर राख्ने सबै ब्यक्तिको ३ लाख रुपैयाँसम्मको अनिवार्य बीमा गराउने ब्यवस्था गरेको छ । योभन्दा अगाडि २ लाख रुपैयाँसम्मको मात्री बीमा गराउनु पर्ने ब्यवस्था थियो ।

बीमा गराउनु पर्ने रकम बृद्धि भएको कारण यस्तो शुल्क घटाउनु पर्ने माग बैंक तथा वित्तीय संस्थाको थियो । बैंक तथा वित्तीय संस्थाहरुले बीमा गराउनु पर्ने रकम २ लाखबाट ३ लाख भएपछि पहिला जति रकम तिर्थे त्यती रकममै ३ लाखको पनि बीमा हुने ब्यवस्था गर्न माग गरेका थिए ।

तर, कोषले उनीहरुको यस्तो मागको विकल्पमा शुल्क नै ०.२० प्रतिशतबाट घटाएर ०.१६ प्रतिशत बनाएको हो ।


क्लिकमान्डु