शुरु भयो अनलाइन ट्रेडिङ, लगानीकर्ता भने दोधारमा
काठमाडौ । कालीका सेक्यूरिटिजमा भेटिएका धादिङका लगानीकर्ता निर्मल न्यौपाने अनलाईन ट्रेडिङका लागि यूजर नेम र पासवर्ड लिने कि नलिने भन्ने दोधारमा छन् ।
नेप्सेको वेव साइटमा देखा पर्ने समस्या अनलाइन ट्रेडिङमा समेत देखिन सक्ने भन्दै उनी दोधारमा परेका हुन् ।
नेप्सेले साउन १ गतेबाट अनलाईन ट्रेडिङ सुरु गर्ने जनाएको थियो । सो सेवा तत्काल लागू गर्ने भनेपनि बजारमा सोही अनुसार कार्यान्वयन भइसकेको छैन ।
ब्रोकर संघ तथा क्रिष्टल कञ्चन्जंगा दुवै ठाउँका अध्यक्ष रहेका प्रियराज रेग्मी भन्छन्– हाम्रोमा हिजोबाट पासवर्ड वितरण भइसकेको छ, सेक्यूरिटिज आउन नभ्याउने लगानीकर्ताले पासवर्ड लिएका छन् ।’ अनलाइन ट्रेडिङमा जानका लागि ईमेल तथा एसएमएसबाट लगानीकर्ता चासो देखाएका छन् ।
अहिले लगभग १२, १५ जना अनलाईन ट्रेडिङमा आवद्ध रहेको रेग्मीले जानकारी दिए । सेक्यूरिटिजमा आउन भ्याउने लगानीकर्ताले भने यसमा खासै चासो नदिएको उनको मत छ । त्यसैले सेक्यूरिटिजमा आवद्ध १, २ जनाले मात्र यो पद्दति रुचाएको बताए ।
कालीका सेक्यूरिटिजका अध्यक्ष तथा ब्रोकर संघका भूतपूर्व अध्यक्ष समेत रहेका नरेन्द्रराज सिजापति भन्छन्– ‘हामी लगभग तयारी अवस्थामा पुगीसकेका छौं, १–२ प्रविधिक कुराले हामीलाई अड्काएको छ, तपार्इँहरुले हाम्रोमा लगभग अनलाइन ट्रेडिङ सुरु नै भएको मान्दापनि हुन्छ । ’
यसैगरी, क्रिष्टल कञ्चन्जंगा सेक्यूरिटिजका लगानीकर्ता रामबहादुर बोहोरा भने अनलाईन ट्रेडिङको काम नेटले नै गर्नेमा ढुक्क छन् । अनलाईनमा फ्लोरसिट मात्र हेर्न सकिने भएकाले यसमा कुनै हतार नभएको उनले जानकारी दिए । जस्ले बुझ्छ उसलाई अनलाईन खासै हतारको विषय नभएको उनको मत छ ।
अनलाईनबाट किनबेच नै गर्न सकेको भए यो निकै चासोको विषय बन्ने मत उनले व्यक्त गरे ।
यसरी नै एशियन सेक्यूरिटिजमा आवद्ध रहेका लगानीकर्ता चन्द्र घले भन्छन् –‘हामीलेपनि अनलाईन ट्रेडिङमा सहभागी हुन चाहका छौं, तर तत्काल हाम्रोमा सुरु भइसकेको छैन ।’ केही दिनमा सो सेवा सञ्चालनमा आउन साथ आबद्ध हुने घलेको मत रहेको छ ।