आज हरिशयनी एकादशीः यस्ता छन् तुलसीका ६ फाइदा



काठमाडौं । असार शुक्ल एकादशीका दिन आज (सोमबार) नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्ने चलन छ । जेठ शुक्ल एकादशीका दिन घरघरमा उमारिएको तुलसीको बिरुवा आज रोपिएको हो ।

आजदेखि भगवान विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा रहेको छ । अझै यसलाई तुलसीको विवाह पनि भने गरेको पाइन्छ ।

हरिबोधनी एकादशीका दिन भगवान् विष्णु जाग्नु हुने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

चतुर्माससमेत भनिने चार महिनाको अवधिमा व्रत बस्ने भक्तजनले साउनमा साग, भदौमा दही, असोजमा दूध र कात्तिकमा दुई दल भएर उम्रने गेडागुडी खानु नहुने शास्त्रीय नियम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

यस अवधिमा पर्ने आठवटा एकादशीमा भगवान् विष्णुको विशेष उपासना गरी एकादशी महात्म्यको पाठ पारायण गरिन्छ । चतुर्मासमा वृहस्पति र शुक्र अस्त भएपनि व्रत गर्नुपर्ने शास्त्रीय वचन रहेको उहाँले जानकारी दिए ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ । वर्षका २४ एकादशीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रुपमा लिइन्छ ।

व्यावहारिक पक्षलाई हेर्ने हो भने वृक्षहरुमा सबैभन्दा ज्यादा अक्सिजन उत्सर्जन गर्ने र वातावरणीय दृष्टिले अत्यन्तै पवित्र तुलसीलाई मानिन्छ । विभिन्न प्रकारका औषधि निर्माणका लागि महत्वपूर्ण मानिने तुलसीको विरुवा घरघरमा रोपेमा बिग्रँदै गएको वातावरणलाई स्वच्छ बनाउन सकिन्छ ।

तुलसी भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनी चिनिन्छ र पवित्र मानिन्छ । तर यो बिरुवामा अनेकौं रोग निको पार्ने क्षमता भएकाले यसलाई पूजा गरिएको हुन सक्ने देखिन्छ ।

अध्ययनहरूले तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोगको अचूक औषधीको रुपमा लिइन्छ ।

तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू रहेका हुन्छन् । यसबाट रुघाखोकी र ज्वरोलाई कम गने शक्ति रहेको हुन्छ ।

यस्ता छन् तुलसीको फाइदा

१. तुलसीको काँढा पानी बनाएर पिउँदा ज्वरो घट्छ ।

२. अलिकति पानीमा तुलसीको पात र दालचिनी हालेर उमाल्नुस् । ज्वरो आउँदा यो काँढा दिनमा धेरैचोटि पिउनुस् ।

३. तुलसीको पातमा एन्टीअक्सिडेन्ट गुण हुनाले यसले प्यानक्रियाटिक बीटा सेल्सको कामकाजमा सुधार गर्छ । इन्सुलिन सेन्सिटिभिटी बढाएर ब्लड सुगर कम गर्दै मधुमेह नियन्त्रण गर्न सहयोग पुग्छ ।

४. तुलसीले रक्तचाप र कोलेस्ट्रोल स्तरलाई कम गरेर मुटुलाई स्वस्थ राख्छ । तुलसीको पात चपाउने मानिसलाई मुटुरोग लाग्दैन ।

५. तुलसीले तनाव जन्माउने हर्मोन कार्टिसोललाई कम गराउँछ ।

६. त्यस्तै तुलसीले रगतमा युरिक एसिडको स्तर घटाएर मिर्गौलालाई स्वस्थ राख्छ ।


पुष्प दुलाल