बैंकिङ सिस्टम किन बिगार्दै छन् नबिल बैंकका सिइओ अनिल शाह ?




काठमाडौं । आर्थिक वर्ष २०७४/७५ सकियो । विकास खर्च बढेसँगै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) बढ्ने र ब्याजदर घट्ने अनुमान धेरैको छ ।

केही बैंकले ब्याजदर पनि घटाए ।

तर, नेपालमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंकले आर्थिक वर्ष सुरु भएको पहिलो दिन नै मुद्दती निक्षेपमा साढे १० प्रतिशत ब्याजदर दिने निर्णय सार्वजनिक गर्यो । बैंकले व्यक्तिगत तर्फ ०.५ प्रतिशत थपेर ११ प्रतिशतसम्म मुद्दतीमा ब्याजदर दिन सक्ने जनाएको छ ।

नबिलका निक्षेपकर्ताले हरेक तीन महिनामा निक्षेपकर्ताले ब्याज पाउँछन् ।

कुन बैंकले ग्राहकसँग कति प्रतिशत ब्याजदर लिने भन्ने उसको आफ्नो निजी कुरा हो । अझ खुला बजारमा निक्षेप र कर्जाको ब्याजदर बैंक आफैले तोक्ने हो ।

तर, नेपालका वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउने नबिल बैंक नै वित्तीय प्रणालीमा अस्वस्थ प्रतिस्पर्धामा उत्रन थालेपछि यसको असर बजारमा पर्छ ।

नबिलले गत आर्थिक वर्षमा ४ अर्ब रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गर्दैछ । वाणिज्य बैंकमा सबैभन्दा बढी नाफा कमाउने बैंकहरुमा नबिल नै पर्छ ।

नबिल बैंक नै ब्याजदर बढाउने अस्वस्थ प्रतिस्पर्धामा उत्रन थालेको तत्काल प्रमुख कार्यकारी अधिकृत बन्न राष्ट्र बैंकको नियमले नदिए पनि कामु प्रमुख कार्यकारी अधिकृतमा अनिल शाह भित्रिएपछि हो । शाह नबिल नविल भित्रने वित्तिकै नबिलले निक्षेपमा अग्रिम ब्याज दिने स्किम ल्याएको थियो ।

नविलले वार्षिक ११ प्रतिशत ब्याजदरको मुद्दती निक्षेपमा अग्रिम ब्याज लिने स्किम बैंकर्स संघको विरोधपछि हटाएको थियो ।

यस्तै नबिल बैंकले कार्डबाट बढी सपिङ गर्नेलाई गाडी दिने योजना ल्याएको थियो ।

‘कार्ड बाट कार क्यासब्याक लगातार’ योजनामा राष्ट्र बैंकको हस्तक्षेपपछि नबिल बैंक ब्याक भएको थियो । बैंकमा खाता होल्न वा निक्षेप राख्नको लागि कुनै उपहार वा चिठ्ठा योजना राख्न राष्ट्र बैंकले प्रतिवन्ध गरेकै अबस्थामा नविलले यस्तो स्कीम ल्याएको थियो ।

बैंकर्स संघले ब्याजदरको भद्र सहमति उलंघन गरेको भन्दै एनआईसी एशिया बैंकसँग कारोबार नगर्ने निर्णय गरेको थियो । तर, नबिल बैंकले गरेको यस्तो सहमतिको उल्लघनमा संघ दरिलोसँग उभिन सकेको थिएन ।

‘नबिल बैंकजस्तो ठूलो बैंकले यसरी बजार बिगार्ने गरी ब्याजदरको स्किम ल्याउदा बजारलाई असर पर्छ, स्थापित र ठूलो आकारको बैंक नै बजार बिगार्न लागेपछि अरुपनि ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रनुपर्ने हुन्छ,’ एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

बैंकर्स संघमा अरु बैंकका सिइओ र नबिलका शाहबीच ब्याजदर नबिगार्न विभिन्न खालका कुराकानी भएका हुन्थे । तर, अनिल शाह आफूले ल्याएको योजना रचनात्मक शोच भएकोले अरु बैंकले नबुझेको प्रतिक्रिया दिन्थे ।


क्लिकमान्डु