जुटमिल पुनःसञ्चालन, दैनिक २० टन जुटको सामग्री उत्पादन हुने
विराटनगर । विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनः सञ्चालनमा आउने भएको छ ।
मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए ।
मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र परीक्षणस्वरुप दैनिक छ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष वन बताए ।
मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ । विसं १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो । रासस