११ महिना मै आयो ३ करोड रुपैयाँको टीका र चुरा



काठमाडौं । साउन महिना विशेष गरि महिलाहरुको लागि महत्वपूर्ण मानिन्छ । साउनमा महिलाहरु हरियो र पहेलो रंगको चुरा, पोते तथा टीका लगाउने गर्छन् ।

सिंगारिएर झपक्कै हुने यी महिलाहरुले लगाएका चुरा, टीका लगायतका सामाग्रीहरु कतिको आयात भएको छ भन्ने कुरा तपाईँलाई थाहा छ ?

यसैबारेमा केही चर्चा गर्दैछौं :
नेपालले भारतबाट मात्र नभई जर्मनी, अमेरिका र चीनबाटपनि चुरा, टीका, टिकुली लगायतका सामाग्रीहरु आयात गर्ने गरेको छ ।

नेपालले आर्थिक वर्ष २०७४\०७५ को ११ महिना ३ करोड ४९ लाख रुपैयाँ बराबरको चुरा टीका आयात गरेको भन्सार विभागका तथ्याङ्क अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मात्रामा यस्ता सामाग्रीहरु भारतबाट आयात हुने गरेपनि जर्मनी, अमेरिका र चीनबाटपनि केही मात्रामा यस्ता श्रृङ्गारका सामाग्रीहरु भित्रिन थालेका छन् ।

नेपालले यी ४ राष्ट्रबाट १ करोड ५४ लाख ९१ हजार ९ सय ३८ पीस चुरा, टीका लगायतका सामाग्री आयात गरेको छ ।

गत आर्थिक वर्षको ११ महिना भित्र नेपालले भारतबाट ३ करोड, ३१ लाख रुपैयाँ बराबरको १ करोड ५३ लाख ७५ हजार बढी पिस चुरा, टीका लगायतका सामाग्री आयात गरेको तथ्याङ्कले देखाएको छ ।

नेपालले चीनबाट १७ लाख १० हजार रुपैयाँको १ लाख १६ हजार ७२ पिस चुरा, टिका लगायतका सामाग्री आयात गरेको छ ।

अमेरिकाबाट नेपालले १० हजार रुपैयाँको २ सय १ पिस चुरा, टीका लगायतका सामाग्री आयात गरेको हो ।

जर्मनीबाट भने नेपालले ३ हजार रुपैयाँमा १ पिस मात्र चुरा आयात गरेको विभागको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ सम्ममा नेपालले ६ वटा भन्दा बढी देशहरुबाट चुरा, टीका लगायतका सामाग्रीहरु आयात गर्ने गरेको थियो ।

गत आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले २ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको चुरा, टीका लगायतका सामाग्रीहरु आयात गरेको तथ्याङ्क रहेको छ ।

नेपालले भारत, चीन, इटली, कोरिया, माल्टा, ताइवान लगायतका देशहरुबाट चुरा, टीका लगायतका सामाग्री आयात गर्ने गरेको थियो ।

नेपालले गत वर्षको सो अवधिमा १ करोड ३३ लाख ८२ हजार ५ सय ५० पिस टीका, चुरा लगायतका सामाग्री आयात गरेको थियो ।

नेपालमा पनि चुरा र टीका बनाइन्छ । तर, यसको यकिन तथ्याङ्क प्राप्त हुन सकेन । महिला उद्यमी महासंघकी सदस्य विमला खनालका अनुसार उनले आफै उत्पादन गरेको चुरा १ सय ५० देखि ३ सय रुपैयाँसम्ममा विक्री गर्दै आएकी छन् । ४ वर्षदेखि घर मै चुरा पोते उत्पादन गरेर बिक्रीका गर्दै आएकी उनी अर्डर अनुसार क्रीष्टलका चुरा बनाउने गछिन् ।

उनले साउन महिनाकै लागि भनेर हरियो, पहेलो चुरा तथा पोतेहरु धमाधम उत्पादन भईरहेको बताइन् । उनले पोतेहरु डिजाइन अनुसार १ सय रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा बिक्री वितरण गर्दै आएकी छिन् ।


क्लिकमान्डु