महिला उद्यमीलाई ऋण दिन माग



काठमाडौं । महिला उद्यमी महासंघ नेपालले सरकारले यो आर्थिक वर्षको बजेटमा महिला उद्यमीलाई समाबेस नगरेको भन्दै अब बैंकले ऋण मार्फत सहयोग गर्नु पर्ने बताएको छ ।

हालसम्म बैंक मार्फत महिला उद्यमीहरुले १ देखि ५ लाख रुपैयाँ ऋण पाउने गरेका छन् । अझ उपत्यका बाहिरका महिला उद्यमीहरुले १ लाख रुपैयाँ ऋण पाउनपनि धेरै संघर्ष गर्नु परेको महासंघकी अध्यक्ष सारदा रिजालले जानकारी दिइन् ।

अर्थमन्त्रीसँग भेटेर महिला उद्यमीहरुलाई ५ प्रतिशत व्याजदरमा १० देखि २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउन कुरा राखेको उनले बताइन् । यसका लागि बैंकहरुले पनि उत्तिकै साथ दिनु पर्ने उनले भनाई रहेको छ ।

यस्तै, महासंघका प्रवक्ता दर्शना श्रेष्ठले महिला उद्यमसिलताका लागि छुटाइएको महिला विकास उद्यमसिलता कोषका लागि यो वर्ष बजेट नछुटाइएकाले यसले महिला उद्यमीहरु समस्यामा परेको बताइन् ।

यस कोष अन्तर्गत सरकारले विगतका समयमा महिला उद्यमीहरुलाई १ लाख देखि ५ लाख रुपैयाँसम्म ३ वर्षका लागि ६ प्रतिशत ब्याजका दरमा ऋण उपलब्ध गराउँदै आएको थियो ।

हालसम्म यस कोष अन्तरगत १५ करोड ७० लाख रुपैयाँ वितरण गरिएको उनले जानकारी दिइन् ।

प्रदेश नम्बर १ र ३ मा २० जना भन्दा बढी महिला उद्यमीहरुमा गरिएको अनुसन्धानले आवेदन प्रकृया लामो भएको, ऋण दिन कम्तीमा ६ महिनासम्म कुर्नुपर्ने, बिना धित्तो न्यून ब्याज नपाउने लगायतका समस्या फेला परेको श्रेष्ठले बताइन् ।

यस्तै, बैंक अफ काठमाडौंका विकास ऋण इकाईका प्रमुख अमन जोशीका अनुसार बैंकले व्यवसायिक धितोका रुपमा घरजग्गालाई लिने गरेको छ । उनले बैंकहरुले व्यवसायीको स्टकलाई धित्तो नमान्ने गरेको बताए ।

महिला उद्यमशीलता विकास कोष २०७२ सालमा १० वटा जिल्लाबाट सुरु गरिएको महासंघका प्रवक्ता श्रेष्ठले जानकारी दिइन् ।

महिला उद्यमी महासंघकी पूर्व अध्यक्ष याञ्जीला शेर्पाले बैंकहरुमा महिला उद्यमशीलका लागि ऋण लिन धित्तो राख्ने कुरा अझै समस्याका रुपमा रहेको बताइन् । उनले यसमा सरकारी निकायको ध्यान आकर्षण हुन जरुरी रहेको बताइन् ।


क्लिकमान्डु