अर्थमन्त्रीले साउदलाई रेडकार्ड दिएपछि अर्यालले हान्न पाए पेनाल्टी



काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा चन्द्रसिंह साउद सर्बोच्च अदालतको अन्तरिम आदेश अनुसार पदबहाली भएको विज्ञप्ती पठायो । तर, बुधबार बिहान साउदले सिइओको रुपमा हस्ताक्षर गर्न पाएनन् ।

साउदले बुधबार हाजिर गर्न नपाएपछि नेप्सेले वेवसाइटबाट सो विज्ञप्ती हटाइसकेको छ ।

बुधबार सिइओको कार्यकक्ष बाहिर नेमप्लेट अर्थमन्त्रालयले पठाएका रमेश अर्यालको थियो । नेप्सेको हाकिम बन्ने प्रतिस्पर्धा भएको बेला स्टक एक्सचेन्जको वेवसाइट करिब २ घण्टा डाउन भयो ।

जसले गर्दा लगानीकर्ता सही सूचना पाउन सकेनन् ।

सरकारले एकमुष्ट शेरबहादुर देउवा सरकारको पालामा नियुक्ती भएका सबै राजनीति नियुक्ती तथा संस्थानमा भएका नियुक्ती हटाउने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै नेप्सेका सिइओ साउदको समेत पद गयो ।

त्यसलाई चुनौती दिदै साउद सर्बोच्च अदालतमा पुगे । सर्बोच्चले तत्काल साउदलाई नहटाउनको लागि अन्तरिम आदेश थियो ।

अन्तरिम आदेशसँगै साउदको पदबहाली भयो ।  नेप्सेमा साउदले पदबहाली गरेर बुधबारदेखि नियमित कार्यालय आउने कर्मचारीलाई बताएका थिए ।

तर,अर्थमन्त्रालय खासगरी अर्थमन्त्री डा युवराज खतिवडाको दवावमा भने बुधबार साउदले हाजिर गर्न पाएनन् । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले मन्त्रालयको निर्देशन अनुसार नै साउदलाई हस्ताक्षर गर्न दिएनन् ।

यो विषयमा न्यौपानले कुनै प्रतिक्रिया दिएनन् । उनले यो सबै विषय प्रवक्ता मुराहरि पराजुलीसँग बुझ्ने भने । प्रवक्ता पराजुलीले भने यो विषय आफुलाई जानकारी नभएको बताए ।

नेप्से स्रोतका अनुसार अर्थमन्त्रालयको दवावपछि साउदले हस्ताक्षर गर्न नपाएका हुन् । ‘नेप्सेको अध्यक्षलाई अर्थमन्त्रालयबाट दवाव आएपछि साउदलाई हस्ताक्षर गर्न नदिएको हो,’नेप्से स्रोतले भन्यो ।

अर्थमन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मको लागि अर्याललाई सिइओ बनाएर पठाएको थियो । तर,सर्बोच्चको अन्तरिम आदेश अनुसार अन्य संस्थामा पुर्नबहाली भएकाहरुले काम सुरु गरिसकेका छन् । तर,साउदले भने काम गर्न पाएनन् ।

नेप्सेमा सिइओको फुटबल म्याचले भने लगानीकर्तालाई अन्यौल थपेको छ । अहिले नेप्सेमा अदालतको आदेशले बहाली भएका साउद तथा अर्थमन्त्रालयले पठाएका अर्यालबीच वार्ता भइरहेको छ ।


क्लिकमान्डु