साउन १ गतेदेखि सेयरको अनलाइन कारोबार, युजर नेम र पासवर्ड लिन ब्रोकरकोमा जानुस्




काठमाडौं । साउन १ गतेदेखि सेयरको अनलाइन कारोबार सुरु हुने भएको छ । यसको लागि धितोपत्र बोर्डले धितोपत्र सुचिकरण तथा कारोबार नियमावली २०७५ लागू गर्दैछ भने नेपाल स्टक एक्सचेन्जले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।

ब्रोकरले पनि सोही अनुसारको तयारी गरेका छन् ।

अनलाइन कारोबारको लागि पुरानो नियमावलीले सम्बोधन नगर्ने भएकोले साउन १ गतेदेखि नयाँ नियमावली कार्यान्वयनमा ल्याउन लागिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले साउन १ गतेदेखि अनलाइन कारोबार गर्ने तयारी भएको जानकारी दिए ।

सेयरको अनलाइन कारोबारको डेटा राख्नको लागि एक्सेस वल्र्ड टेक्नोलोजी र सिल्भर लाइनिङले सर्भर उपलब्ध गराउने भएका छन् । ब्रोकरले आइटीको पूर्वाधार नबनाउने र यी दुबै सेवा प्रदायकले प्रदान गरेको सर्भरमा ब्रोकरले क्लाउड बेस्डमा डेटा होस्टिङ गर्नेछन् ।

सर्भर उपलब्ध गराउने सेवा प्रदायकको सर्भरमा नेपाल स्टक एक्सचेन्जले अहिलेको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) जडान गर्नेछ ।

अनलाइन कारोबारको लागि ब्रोकर, नेप्से र सेवा प्रदायकले आन्तरिक रुपमा टेस्टिङको काम गरिरहेका छन् ।

तर, यो अनलाइन कारोबार प्रणालीको युजर एस्पेक्टेन्सी टेस्ट (यूएटी) भने भएको छैन । यो प्रणालीको प्रयोगकर्ताले प्रयोग नगरी यसमा भएका समस्या तथा जटिलताको बारेमा प्रयोगकर्तालाई थाहा नहुने र यस्तो टेस्ट नगरी पूर्ण कार्यान्वयनमा ल्याउन नपाइने भएका कारण पूर्ण रुपमा अनलाइन ट्रेडिङको लागि केही समय भने पर्खनु पर्ने हुन सक्छ ।

युजर नेम र पासवर्ड लिन ब्रोकरकोमा जानुस्
साउन १ गतेदेखि ब्रोकरले लगानीकर्तालाई अनलाइन ट्रेडिङको युजन नेम र पासवर्ड भने दिन थाल्ने भएका छन् । यस्तो युजर नेम र पासवर्डबाट सोही दिनदेखि तपाइले अनलाइन कारोबार गर्न भने पाउनु हुनेछैन ।

यो प्रणालीको युएटी नभएको कारण नेप्सेले यसलाई अहिलेको प्रणालीसँगै समानान्तर रुपमा केही समय लाने भएको छ । ब्रोकरले दिएको युजर नेम र पासवर्ड प्रयोग गरेर तपाइले आफ्नो अर्डर म्याच भए नभएको जस्ता जानकारी लिन पाउनु भने हुनेछ ।


क्लिकमान्डु