अमेरिकाका यी नियम, जसले तपाईंलाई हैरान बनाउँछ



भर्खरै अमेरिका आउनुहुने नयाँ आगन्तुकहरुलाई यहाँको केही नियम र परम्पराले सुरुमा हैरान बनाउँन सक्छ । अझ अन्य मुलुकमा बानी परेको विषयले समेत अमेरिकामा रनभुल्लै बनाइ दिनसक्छ । अमेरिकाका केही संस्कारहरु छन्, जो अरु दुनियाँको भन्दा ठीक उल्टो छ ।

सामान्य रहनसहनदेखि दैनिक प्रयोग हुने सामानहरुसम्म सबै फरक हुनुलाई सामान्य रुपमा शक्तिशाली देशले शक्ति देखाएको भनेर बुझिएला । तर यसको कारण पनि अनौंठो छ । कारणको विषयमा अन्तिममा कुरा गरौंला ।

यस अगाडि त पूर्विय संस्कार र पश्चिमी संस्कारको विषयलाई जोडेर कुरा गरेपनि व्यवहारिक फरकको विषयमा कमैलाई जानकारी हुनसक्छ । परम्परा र सोचमात्रै होईन अमेरिकाको व्यवहार पनि बिपरित छ । सामान्य नागरिकको जिवनशैलीदेखि राष्ट्रिय परम्पराले नै केही अनौठो लाग्नसक्छ ।

आउनुहोस् अमेरिकाको के कुरालाई तपाईको दिमाग घुमाईदिन्छ पहिला त्यो जानौं:

पैसा खै ?: नेपालमा अमेरिका गएपछि मनग्य पैसा कमाईने सोचिन्छ । तर नेपालमा जागिर गरेर पैसा थुपार्नेहरुलाई अनौंठो लाग्न सक्छ । अमेरिकनहरुसँग बचत नै हुँदैन । पैसा चाहिए काम गर्ने र त्यो नसकिएसम्म काम नगर्ने र फेरी चाहिएजति मात्रै कमाउने प्रचलन छ ।

गत वर्ष भएको एक अध्ययनमा ६२ प्रतिशत अमेरिकनहरुसंग १ हजार डलरभन्दा कम बचत रकम हुने देखाईएको थियो भने २१ प्रतिशतसंग त बचत खाता नै नभएको (अमेरिकामा चल्ती र बचत फरक फरक राख्ने कोसिस गरिन्छ) देखाईएको थियो ।

ड्राईभिङ्ग कताबाट गर्नेहोला ?:  नेपाल र अमेरिकाको सवारी चलाउने परम्परा ठ्याक्कै उल्टो छ । नेपालमा ड्राईभर सिट गाडीको दाईने साईडमा राखिएको हुन्छ भने देब्रेतर्फको सडकमा गाडी गुडाईन्छ ।

अमेरिका ठ्याक्कै उल्टो देब्रे साईडमा बसेर दाईनेतर्फको सडकमा गाडि चलाउनुपर्छ । यो हिसाबमा नेपालमा जताबाट जाने गर्नुभएको थियो अमेरिकामा त्यो विपरित दिशा हुन्छ । नेपालमा सवारी चलाउन बानी परेकालाई यसले सुरुमा केही असहज बनाउन सक्छ ।

किलोमिटर भनेको के हो ?: अमेरिकामा एक ठाउँबाट अर्कोठाउँमा पुग्न कति दुरी छ भनेर गोराहरुलाई सोध्न खोज्नुभएको हो भने कति किमि छ भनेर सोध्नुभयो भने गोराहरुले के हो किमि भनेको भनेर उल्टै तपाईलाई सोधिदिन सक्छन् । किनभने यहाँ किलोमिटरमा होईन लम्बाई माईलमा नापिन्छ । जो एक माईल बराबर १.६० किलोमिर हुन्छ । त्यस्तै लम्बाई सेन्टिमिटरमा नाप्नेहरुलाई ईन्चमा नाप्नुपर्ने हुन्छ ।

ग्यासले खाना पकाउनुहुन्छ कि गाडीमा हाल्नुहुन्छ ?: नेपालमा ग्यास भनेपछि खाना पकाउने एलपी ग्यासको याद आइहाल्छ ।

गाडीको सन्दर्भमा ग्यास भनिएको हो भने यो भन्ने वित्तिकै ग्यासबाट चल्ने माईक्रो र ट्याप्पुको कुरो आयो भन्नुभयो होला । होईन है । तपाईले गाडीमा हाल्ने पेट्रोललाई नै यहाँ ग्यास भनिन्छ । त्यसैले हो पेट्रोल पम्पलाई ग्यास स्टेशन भनेको । अब अमेरिका आउनेवित्तिकै कसैले ग्यास हाल्न जाऔं भन्यो भने गाडीमा एक सिलिण्डर एलपी ग्यास हाल्ने कुरा आयो भन्ने नसोच्नुहोला पेट्रोल हाल्न जान लागेछन् भन्ने बुझ्नुहोला ।

विजुली प्लगले घुमाउन सक्छ फनफनी: कतिपयले अमेरिका आउँदा आफ्नो नेपालकै फोन र ल्यापटप बोकेर आएका हुन्छन् ।

सामान्य हो ल्यापटप फोन भएपछि चार्जर पनि हुने नै भयो तर तपाईले नेपालबाट ल्याउनुभएको चार्जरले अमेरिकामा होईन अमेरिका बाहिरको देशमा मात्र काम हुन्छ । किनभने यहाँ चार्जर जोड्न् विद्युतको प्लग नै फरक हुन्छ । प्लग नै नभएपछि नयाँ चार्जर खोज्नु पर्ने नै भयो ।

ग्यालनमा दुध हुन्छ कि पानी ?: कोही बजार गएर घरायसी सामान किन्दै छ भने एक ग्यालन दुध नै लिएर जाऔं भन्ने कुरा आउनसक्छ । सुरुमा आउनेहरुले त भनि पनि हाल्नुहोला ग्यालन किन एक लिटरको प्याकेट लैजाउ न ! तर, यहाँ लिटरले होईन तरल पदार्थ ग्यालनमा नापिन्छ । एक ग्यालन बराबर ३ दशमलव ७८ लिटर हुन्छ । गाडीमा तेल देखिसबै यहि हिसाबले ग्यालनको आधारमा राखिएको हुन्छ ।

सामान बनाउने कि मिल्काउने ?:  नेपालमा सडकदेखि कपडासम्म टालेरै चलाउने बानी परेकाहरु अमेरिका आएभने यहाँको सामानमा गरेको लगानी खेर गएको देखेर हासै उड्न सक्छ । अमेरिका सुरुमा सामान किन्दा जति सस्तो पर्छ त्यो विग्रिएर बनाउनुपर्यो भने त्यो भन्दा महंगो हुनसक्छ ।

यहाँ जनश्रमबाट हुने(मानिसबाट गरिने काम) सबै नै निकै महंगो छ । उदाहरणको लागि तपाईको ल्यापटप विग्रियो र बनाउनको लागि बीमा छैन भने त्यो बनाउन भन्दा नयाँ किन्न फाईदा हुनसक्छ । त्यसैले यहाँ साना साना सामानको पनि विमा गरिएको हुन्छ ।

जसरी व्रिटिस र अमेरिकन अग्रेजीको फरक अर्थ राख्छ त्यसैगरी ब्रिटिस र अमेरिकाको व्यवहारिक विषयमा पनि फरक हुनुलाई भने अमेरिकाको इतिहाससंग जोडेर हेरिने गरिएको छ ।

सन् १७८३ मा अमेरिका युरोपियन शक्तिबाट स्वतन्त्र भएपछि नै अमेरिकाले आफू स्वतन्त्र भएको देखाउन युरोपियनहरुले प्रचलनमा ल्याएको मापदण्डहरु हटाएको बताईन्छ । यसलाई स्वतन्त्रताको संकेत र प्रतिद्वन्दका भावना जे भनेपनि अहिले अमेरिकालाई नै अरु देशले पनि अनुसरण भने गर्दै गएका छन् ।

केही समयदेखि चिनलगायत अमेरिकासँग व्यवपारिक साझेदारीका देशहरुले समान व्यापारको लागि समान नियमको प्रयोग गर्न थालेका छन् ।

लेखक खतिवडा बाल्टिमोर बस्छन् ।


पुष्प दुलाल