जापानी र जर्मन राजदूतसँग कृषि मन्त्री खनालको भेटवार्ता, कुरा के भए ?



काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालसँग जापान र जर्मनीका राजदुतले छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।

नेपालका लागि जापानी राजदुत मासामिचि साइगो र जर्मन राजदुत रोलान्ड शेफरले छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । मन्त्रीको कार्यकक्ष सिंहदरवारमा भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी समझदारीका विषयमा छलफल भएको छ ।

जापानी राजदुतसँगको छलफलमा मन्त्री खनालले नेपालका लागि राजदुतमा नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्नका लागि शुभकामना दिएका थिए ।

भेटमा मन्त्री खनालले नेपाललाई आर्थिक रुपान्तरणमा लैजाने महान अभियान रहेको भन्दै त्यसका लागि कृषि एवं आर्थिक विकासको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए ।

उनले कृषि अनुसन्धान एवं प्रविधिको विस्तार, कृषिको समग्र मूल्य श्रृङ्खलामा जापानको सहकार्य, कृषि करिडोर लगायत विषयमा जापान सरकारको सहयोगको अपेक्षा गरिएको बताए ।

जवाफमा राजदुत मासामिचिले नेपालसँग अर्गानिक खेती र प्रविधिको ज्ञान र शिप आदान प्रदान गर्न जापान सरकार तयार रहेको बताए ।

त्यस्तै, जर्मन राजदुतसँगको भेटमा मन्त्री खनालले निक्कै लामो समयदेखि जर्मन सरकारसँग मित्रतापूर्ण सम्बन्ध रहेको भन्दै भविष्यमा पनि त्यो सम्बन्ध थप मजवुत हुने बताए । पोष्ट हार्भेष्टिङ एवं कृषि प्रशोधन र भण्डारण तथा कृषि सडक सञ्चालमा जर्मन सरकारसँग थप सहकार्यको अपेक्षा राखिएको मन्त्री खनालको भनाई छ ।

सोही अवसरमा राजदुत रोलान्डले जर्मनीको बर्लिनमा आगामी सेप्टेम्बरमा हुने एक सम्मेलनमा सहभागिताका लागि मन्त्री खनाललाई निम्ता दिएका थिए ।


क्लिकमान्डु