बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता हुँदै




काठमाडौं । सरकारले बंगलादेशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता गर्ने भएको छ । सम्झौताको लागि सबै प्रक्रिया पूरा भएर हस्ताक्षरको चरणमा रहेको छ ।

मन्त्रिपरिषदले बंगलादेशसँग यस्तो सम्झौतामा हस्ताक्षर गर्नको लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई अख्तियार दिइसकेको आन्तरिक राजस्व विभागका निर्देशक विमल सापकोटाले जानकारी दिए ।

‘बंगलादेशसँग दोहोर कर उन्मुक्तिको सम्झौता गर्न मन्त्रिपरिषदले अर्थमन्त्रीज्यूलाई अख्तियारी समेत दिइसकेको छ, अर्थमन्त्रीज्यूले समय मिलाएर यस्तो सम्झौतामा चाँढै नै हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ,’ निर्देशक सापकोटाले क्लिकमाण्डूसँग भने ।

यस्तै सरकारले बेलायत सरकारसँग पनि यस्तो सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको छ । बेलायत र नेपाल सरकारबीच दोहोरो कर उन्मुक्तिको सम्झौताको लागि पत्र आदान प्रदान भइरहेको निर्देशक सापकोटाले जानकारी दिए ।

नेपालले सन् २०१३ मै बेलायत सरकारसँग दोहोरो कर उन्मुक्तिको सम्झौताको लागि पत्राचार गरेको थियो । सोही समयमा बेलायत सरकारले दोहोरो कर सम्झौताको लागि आफ्नो ढाँचा नेपाल सरकारलाई पठाएको भएपनि थप प्रक्रिया अगाडि बढेको थिएन ।

बेलायत सरकारसँग नेपालको २ सय बर्षभन्दा पुरानो भएकोले नेपाल सरकारले उसँग यस्तो सम्झौता गर्न लागेको हो । नेपालले दोहोरो कर उन्मुत्तिको सम्झौता गर्दा त्यस्ता देशका लगानीकर्तासँग कर लिने अधिकार गुम्ने भएकोले यस्तो सम्झौताको लागि नेपाल सरकारले त्यत्ति प्रयास गर्ने गरेको छैन । तर, यस्तो सम्झौता भएका देशबाट ठूलो मात्रामा बैदेशिक लगानी भित्रन सक्ने सम्भावना भएकोले बढी लगानी आउन सक्ने देखिएका देशहरुसँग नेपालले यस्तो सम्झौतालाई उच्च प्राथमिकता दिने गरेको छ ।

नेपालले यसअघि नै १० देशसँग यस्तो सम्झौता गरिसकेको छ । नेपालले भारत, चीन, पाकिस्तान, श्रीलंका, दक्षिण कोरिया, थाइल्याण्ड, नर्बे, कतार, अष्ट्रिया लगायतका देशसँग दोहोरो कर उन्मुक्तिको सम्झौता गरिसकेको छ ।


क्लिकमान्डु