शिक्षा मन्त्रीको जवाफ–चिकित्सा शिक्षा सुधारमा सबैको चिन्ता र चासो छ



काठमाडौँ । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा सुधारसम्बन्धी विषय डा केसीको मात्र मुद्दाको रुपमा नभई सबैको चिन्ता र चासोको विषय भएको बताएका छन् ।

नेपाली काँग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भनी राष्ट्रियसभामा राखेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै उनले चिकित्सा शिक्षाको विषय नकारात्मक परिस्थितिको पराकाष्ट भएको बेलामा माथेमा कार्यदलको प्रतिवेदन आएको जानकारी दिए ।

मन्त्री पोखरेलले भने, “यथार्थवादी हौँ, सही ढंगले अघि बढौँ, आयोग बनाएर समस्या समाधान गरौँ भन्ने विषयलाई हामी सबैले विश्वास गरौँ, यति बेलामा अनशनमा बस्ने बेला होइन, अहिले परिस्थिति फरक भएको छ, डा केसीजस्ता व्यक्ति अनशन होइन, आयोगमा बसेर काम गर्न आवश्यक छ, हठका आधारमा होइन विधि र विवेक प्रयोग गरेर समाधान खोज्नुपर्छ ।”

नेपालको चिकित्सा शिक्षा र स्वास्थ सेवा सुधार एवं विकासको लागि माथेमा कार्यदलले दिएको सुझाव कोशेढुंगाका रुपमा रहने बताउँदै मन्त्री पोखरेलले तर अध्यादेशलाई विधेयकको रुपमा जस्ताको त्यस्तै भने ल्याउन नसकिने स्पष्ट गरे ।

“भिडन्तको रुपमा होइन, सहमतिका आधारमा अघि बढौँ, डा केसीले भनेको कुरामा मात्रै जाने हो भने संसदको सार्वभौमसत्ता के हुन्छ, सुधारको प्रक्रियामा जानुपर्दछ, संसद्को सर्वोच्चता, अधिकारको विषयलाई ख्याल गरेर जोरजुलम गर्ने होइन, सहमतिका आधारमा टुङग्याउनुपर्दछ, साझा ढंगले मिलाएर सहमति गरौँ होइन भने विधि र प्रक्रियाबाट अघि बढनुपर्छ”–उनले भने ।

माथेमा कार्यदलको मूल मर्मलाई हेरिनुपर्छ भन्दै मन्त्री पोखरेलले भने, “काठमाडौँ उपत्यकामा १० वर्ष कलेज खोल्न दिने कि नदिने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी कलेज खोल्न पाउने कि नपाउने भन्ने विषयको छिनोफानो गर्न आयोगलाई जिम्मा दिइनुपर्दछ ।”

संघीयताका आधारमा र काठमाडौंमा मात्र कलेज थोपर्नु हुन्न भन्ने अवधारणाका आधारमा डा केसीको अवधारणा आएको बताउँदै उनले मेडिकल कलेजको सञ्चालन गर्न मापदण्ड पूरा नगरी मेडिकल कलेज चलाउन पाइन्न कुरा ठीक भए पनि समस्या समाधानका लागि डा केसी र उहाँको टोलीले नै पहल गर्न आवश्यक छ भने ।

“डा केसीको स्वास्थ्य अवस्था राम्रो छैन, सरकारले पठाएको उपचार टोलीबाट उपचार लिन्न भनेर बस्दा समस्या कसरी हल हुन्छ”– मन्त्री पोखरेलले भने ।

यसअघि प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिँडारीले सदनमा प्रवेश नै नभएको विधेयकबारेमा छलफलको औचित्यमाथि प्रश्न गर्दै सार्वभौम संसद्लाई होच्याउने र धम्काउने काम कसैबाट हुनुहुन्न भने ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाई समिति गठन र त्यसमा रहनुभएको सदस्यको नाम वाचन गरेर सुनाएका थिए । रासस


क्लिकमान्डु